
अधिवक्ता राम शर्मा अहिले नियमित फुटसल खेल्न थालेका छन् । मिनी फुटबल भनेर चिनिने इन्डोर खेल फुटसल बागलुङमा भित्रिएसंगै उनी व्याडमिन्टन छोडेर फुटसल खेल्न थालेका हुन् ।
यहाँको रस आवर फुटसल प्रालिले धौलागिरिमै पहिलो पटक बागलुङमा फुटसल खेलको व्यवसायीक सुरुवात गरेपछि त्यस खेलप्रति आकर्षित हुनेको संख्या बढ्दै गएको छ । यहाँका चार उद्यमी युवाले व्यवसायीक रुपमा फुटसललाई जिल्लामा भित्र्याएका हुन् । बागलुङ नगरपालिका—३ गुठीमा रहेको २ रोपनी जग्गामा यहाँका युवाहरुले फुटसल खेलको व्यवसायीक शुरुवात गरेका थिए । ‘रस आवर’ फुटसल प्रालि मार्फत यहाँका युवाहरु राजु केसी, सज्जन आचार्य, राजेश श्रेष्ठ र प्रदिप शर्माले फुटसलको व्यवसाय शुरु गरेका हुन् ।
करिब एक करोड २० लाखको लागतमा फुटसलसंगै रेष्टुरेण्टको व्यवसाय शुरु गरेकोमा अहिले फुटसल प्रति धेरैको आकर्षण रहको ‘रस आवर’ फुटसल प्रालिका राजु केसीले बताए ।
‘धौलागिरिमा पहिलो पटक फुटसललाई हामीले व्यवसायीक रुपमा यहाँ भित्र्याएका छौं,’ केसीले भने,‘फुसटसलसंगै रेष्टुरेण्ट समेत सञ्चालन भैरहेको छ । यहाँका स्थानीयहरु फुटसलमा धेरै आकर्षित छन् । फुटसलका लागि २६ मिटर लम्बाई र १६ मिटर चौडाई भएको मैदान तयार पारिएको छ ।
इन्डोरमा खेलिने खेल फुटसलको अहिले शहरी क्षेत्रमा बढ्दै गएको लोकप्रियतालाई ध्यानमा राख्दै यो खेललाई यहाँ सञ्चालन गरेको उनले बताए । ‘पछिल्लो समय शहरी क्षेत्रमा यसको लोकप्रियता निकै पढेको छ,’ केसीले भने,‘त्यही लोकप्रियतालाई ध्यानमा राख्दै हामीले यहाँ फुटसलको व्यवसायीक सेवा शुरु गरेका थियौं ।’ यहाँ पनि राम्रै चलको छ ।
अहिले दैनिक छ समूह मासिक सम्झौता गरेर फुटसल खेलिरहेको केसीले बताए । ‘१० जनालाई दुई समूहमा विभाजन गरेर खेल खेलाउँछौं,’ केसीले भने,‘उनीहरुबाट मासिक एकमुष्ट २५ हजार रुपैयाँ लिने गरेका छौं । अहिले छ समूहले मासिक सम्झौता खेलिरहेका छन् । विदाका दिनमा विद्यार्थाीहरु पनि खेलका आउने गरेको अर्का सञ्चालक सज्जन आचार्यले बताए ।
‘सशुल्क खेल भएकाले धेरै जसो पेसा व्यवसायमा लागेका र सरकारी जागिरेहरु छन्,’ आचार्यले भने,‘विदाका दिनमा विद्यार्थीहरु समेत दिनको समयमा खेल्न आउँछन् ।’ छिटफुट रुपमा खेल्न आउनेहरुलाई प्रतिघण्टा एक हजार दुई सय देखि एक हजार पाँच सय शुल्क लिएर खेल खेलाईने गरेको उनले बताए ।
खेलकुदमा रुचि राख्ने र शारीरिक व्यायाम गर्ने युवाहरुलाई लक्षित गरेर फुटसल सञ्चालनमा ल्याएको सञ्चालक विकास श्रेष्ठले बताए । ‘बागलुङमा शारीरिक व्यायामका लागि खेल खेल्ने उचित ठाउँ पनि छैन,’ उनले भने, ‘हामीले सञ्चालनमा ल्याएको यस खेलप्रति यहाँको युवाको समेत विशेष चासो बढेका छ ।’
यस खेलले जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत सघाउने प्रालिका अध्यक्ष राजेश श्रेष्ठको विश्वास छ । ‘यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मनोरञ्जनका लागि पनि यस खेलले सहयोग पु¥याउँछ,’ श्रेष्ठले भने,‘यसले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्छ भन्नेमा हामी विश्वस्त छौं ।’
खेलकुदको क्षेत्रमा व्यवसायीक लगानी हुनु राम्रो पक्ष भएको जिल्ला फुटबल संघ बागलुङका पूर्व अध्यक्ष राम शर्माले बताए । ‘ठूलो मैदानमा खेल्न नसक्ने, नियमित शारीरिक कसरत गर्न चाहानेहरुका लागि यो राम्रो गन्तव्य भएको छ,’ शर्माले भने,‘अन्तर्राष्ट्रिय क्षेत्रमा निकै लोकप्रिय भएको यो खेलप्रति नेपालमा पनि उत्तिकै क्रेज छ ।
खेलकुदका क्रियाकलापहरु एकदमै न्यून हुने जिल्लामा व्यवसायीक सुरुवात हुनु राम्रो पक्ष हो ।’ इन्डोर खेल भएकाले जतिसुकै बेला पनि खेल्न मिल्ने यस खेलको सकारात्मक पक्ष भएको शर्माको भनाई छ । सन २०११ मा नेपाल भित्रीएको फुटसलप्रति अहिले युवाहरुको आकर्षण बढ्दै गएको छ । ५—५ जनाको समूहमा खेलिने यो खेल काठमाण्डौं उपत्यका सहित पोखरा, हेडौंटा, विराटनगरमा निकै लोकप्रिय मानिन्छ ।