
विपद प्रतिकार्यका लागि समुदायिक पहल विषयक ४ दिने तालिम मंगलबार बाट सुरु भएको छ । नेपाल रेडक्रस सोसाईटी बागलुङको आयोजना र अमेरिकी रेडक्रसको आर्थिक सहयोगमा तालिम सुरु भएको हो । तालिममा बागलुङको जैमुनि नगरपालिका ८ छिस्ती र वडिगाड गाउपालिका ७ भिमगिठेका रेडक्रशकर्मी तथा स्थानियको सहभागिता रहेको छ ।कुनै पनि घटना घटेको २४ देखि ७२ घण्टा भित्र आधारभुत जीवन रक्षा, सीप विकास गर्ने, समुदायमा आधारित सामुहिक रुपमा आकस्मिक घटना व्यवस्थापनको विकास गर्ने र दुर्घटना तथा मृत्युमा कमि ल्याउने कार्यक्रमको उद्देश्यले जिल्लामा यस वर्षदेखि ‘समुदायमा विपद प्रतिकार्य क्षमता विकास कार्यक्रम’ संचालन भैरहेको छ ।
बागलुङमा ३ वर्ष सञ्चालन हुने कार्यक्रममा विभिन्न खालका विपद्बाट बच्च सकिने उपायका विषयमा स्थानीयहरुलाई जानकारी गराउने रेडक्रसले जनाएको छ । परियोजनाले साविको बानपा–६ लगायत ९ वटा गाविस कार्यक्रमका लागि छनौट भएको थियो । बागलुङको छिस्ती, रेश, बिनामारे, ग्वालीचौर, भिमगिठे, सिगाना, रायडाँडा, लेखानी र मल्ममा विपद प्रतिकार्य क्षमता विकास कार्यक्रम सञ्चालन भएको कार्यक्रम संयोजक श्याम कोइरालाले जानकारी दिए ।उनले विपत सम्बन्धि व्यवसायिक विशषेज्ञता हासिल नगरेका मानिसले पनि आफ्नो समुदायमा विपदको पुर्व तयारी कसरी गर्ने भन्ने ज्ञान प्राप्त गर्न सक्ने बताए ।
नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापति जब्बरबहादुर लामिछानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका सह सचिव तथा धौलागिरी टेलिभिजनका सम्पादक सुवास आचार्य तालिमका कोर्ष कोअडिनेटर सुधा तिवारीले विपत व्यवस्थापनका लागि स्थानीयबासीले पहिलो सर्तकता अपनाउनुपर्ने भन्दै विपदको पुर्व तयारीको लागी तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताए । नेपाल रेडक्रस सोसाईटी बागलुङका उपसभापति राजेन्द्र आचार्यले स्वागत गर्नु भएकोे कार्यक्रमको सञ्चालन उपकोषाध्यक्ष जिवनाथ शर्माले गरेका थिए ।