२९ बैशाख २०८२, सोमबार

 

सिंगापुरका जापानी व्यवसायी नेपालमा लगानी गर्न इच्छुक

सिंगापुरमा व्यवसाय सञ्चालन गर्दै आएका जापानी लगानीकर्ताले नेपालमा लगानी गर्न इच्छा देखाएका छन् । उनीहरूले नेपालको ऊर्जा, कार्गो, होटेल व्यवसाय, लजिस्टिक सेवा, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्ने इच्छा देखाएका हुन् । नेपालमा लगानीको वातावरण अध्ययन गर्न आएको जापान चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री सिंगापुरको प्रतिनिधिमण्डल र नेपाल उद्योग वाणिज्य महासंघबीच मंगलबार भएको भेट तथा छलफलमा उनीहरूले नेपालमा लगानी गर्न तयार रहेको बताएका हुन् ।

सिंगापुरमा व्यवसाय गर्दै आएका विभिन्न आठवटा कम्पनीहरूको प्रतिनिधित्व गर्दै आएको १२ सदस्यीय जापानी टोलीले नेपाली उद्यमी व्यवसायीसँग लगानीको वातावरण, लगानीका क्षेत्रहरू, बजार, नीतिगत व्यवस्थालगायतका विषयमा जिज्ञासा राखेका थिए । जापान चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री सिंगापुरका अध्यक्ष तोचिओरी ताकुहिरोले व्यापार तथा लगानीको वातावरण अध्ययन गर्न नेपाल आएको जानकारी गराउँदै यहाँ लगानी गर्न आफूहरू इच्छुक रहेको बताए । ‘लगानीका क्षेत्र, बजार सम्भाव्यता, नीतिगत विषय, युवाशक्तिको अधिकतम सहयोगमार्फत गर्न सकिने उद्यम व्यवसायबारे अध्ययन गरी लगानी विस्तारका योजना बनाउने हाम्रो भ्रमणको उद्देश्य हो,’ उनले भने ।

नेपालका लागि जापानी राजदूत मासासी ओगावाले नेपालमा जापानी लगानी बढाउन कूटनीतिक तर्फबाट पहल भइरहेको बताए । नेपालमा जापानी लगानी तथा विकासको आदानप्रदान गर्न जापानी लगानीकर्ताहरूलाई उनले आग्रहसमेत गरे । निजी क्षेत्रको यस्तो भ्रमणबाट लगानीका क्षेत्र पहिचान तथा विस्तारमा समेत सहयोग पुग्ने उनको भनाइ थियो ।

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपाल आउने विदेशी लगानीका लागि सबै प्रकारको सहयोग गर्न महासंघ तयार रहेको बताइन् । विदेशी लगानी भिœयाउन नेपाल सरकारसमेत अत्यन्त उत्साहित रहेको उल्लेख गर्दै उनले लगानी गरेर नेपालको विकास प्रयासमा सहयोग गर्न जापानी लगानीकर्तालाई आग्रहसमेत गरिन् । ‘अर्थतन्त्रका परिसूचकहरू निकै सकारात्मक छन्, राजनीति पनि स्थिरतातर्फ उन्मुख भएको छ,’ उनले भनिन्, ‘राजनीतिक दलहरूले आर्थिक विकासका एजेन्डालाई पहिलो प्राथमिकतामा राखेकोे, स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र राष्ट्रिय निर्वाचनको पनि मिति तय भइसकेकाले यो समय नेपालमा लगानीका लागि अति नै उपयुक्त हो ।’ सिंगापुरमा गरिरहेको लगानीको सानो अंश तथा प्राविधिक अनुभव नेपालमा पनि विस्तार गर्न अध्यक्ष राणाले उनीहरूलाई आग्रह गरिन् ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung