३० बैशाख २०८१, आईतवार

 

सिआइबीकै सहयोगमा छुटे साढे ३३ किलो सुन तस्करीका नाइके

गत कात्तिक २२ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चोरी मुद्दाका एक फरार अभियुक्त सीताराम तिमिल्सिनालाई पक्राउ गर्‍यो। जसलाई महत्वपूर्ण उपलब्धि ठानेर प्रेस रिलिज नै जारी गर्‍यो।

त्यसको भोलिपल्ट सिआइबीले अर्का एक ‘मोस्ट वान्टेड’ अभियुक्तलाई पक्राउ गरेको थियो। हाइप्रोफाइल घटनामा संलग्न ती अभियुक्त पक्राउको घटना भने सिआइबीले निकै गोप्य राख्यो। एउटा चोर पक्राउ गर्दा प्रेस रिलिज गर्ने सिआइबीले हाइप्रोफाइल अभियुक्त पक्राउको घटना किन गोप्य राख्यो? अनुसन्धानलाई प्रभाव पर्ने भएर होइन, ती हाइप्रोफाइल अभियुक्तको ठूलै पहुँच थियो, पहुँचकै कारण उनलाई सिआइबीले गोप्य राखेको थियो। त्यति मात्र होइन सोर्सफोर्सकै भरमा पक्राउ परेका अभियुक्त एक दिन प्रहरी हिरासतमा बसेर छुटिसकेका छन्।

यसरी सिआइबीलाई नै प्रभावमा पार्न सक्ने अभियुक्त हुन्, रोशन भनिने गुप्तलाल भुसाल। उनी गत वर्षको साढे ३३ किलो सुन तस्करीका प्रमुख नाइके हुन्। भुसाल र हरि खड्का नै उक्त सुन तस्करी प्रकरणका प्रमुख नाइके भएको भन्दै सिआइबीले मुद्दा दायर गरेको थियो, तर त्यही सिआइबीले मुख्य अभियुक्त पक्राउको घटना गोप्य राखी अदालतबाट छुट्ने वातावरण बनाउन समेत सहज गरिदिएको छ। प्रहरीकै सहयोगका कारण भुसाल २० लाख रुपैयाँ धरौटीमा शुक्रबार छुटेका छन्।

स्रोतका अनुसार प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सिआइबीका डिआइजी पुष्कर कार्कीले भुसाललाई सहयोग गरेका थिए। सोही कारण उनी पक्राउ परेको घटनालाई गोप्य राखी अदालतमा पेश गरिएको थियो। सिआइबीमा पनि थोरै अधिकारीले मात्र साढे ३३ किलो सुन तस्करका नाइके भुसाल पक्राउ परेको थाहा पाएका थिए।

संयुक्त अरब इमिरेट्समा रहेका भुसाललाई नेपाल ल्याउन विगतमा प्रहरीले धेरै दुःख गरेको थियो। अदालतबाट पक्राउ पुर्जी जारी गरिएका उनीविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गराइएको थियो। सोही अनुसार युएई प्रहरीले पक्राउ गरी नेपाल ‘डिपोर्ट’ गरेको थियो। काठमाडौं आए लगत्तै उनलाई प्रहरीको इन्टरपोल शाखाले नियन्त्रणमा लिई सिआइबीमा बुझाएको थियो। प्रहरी केन्द्रीय प्रवक्ता डिआइजी मनोज नेउपानेले भुसाललाई सुटुक्क अदालत लगेको घटनाप्रति अनभिज्ञता प्रकट गरेका छन्।

‘सामान्यतया पक्राउ परेका आरोपीहरुलाई सार्वजनिक गर्ने परम्परा छ,’ प्रवक्ता नेउपानेले भने, ‘यो त विदेशबाट झिकाएको व्यक्ति झन् सार्वजनिक हुनुपर्ने हो।’ सिआइबीले पुरानो मुद्दाका अभियुक्त भएकाले सार्वजनिक नगरेको हुनसक्ने उनले बताएका छन्। पत्रकार सम्मेलन गरेर सार्वजनिक नगरे पनि नोटिस मात्र भए पनि जारी हुनुपर्ने डिआइजी नेउपानेको भनाइ छ।

‘नेपाल आउनुअघि नै उनले सबैतिर सेटिङ मिलाइसकेका रहेछन्,’ सिआइबीका एक अधिकारीले भने, ‘उनलाई छुटाउन केही पत्रकारहरु समेत लागेका थिए।’

सिआइबीले गत वर्ष २१ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भित्रिएको  ३३ किलो ५ सय ७७ दशमलव ४० ग्राम सुन बरामद गरेको थियो। सुनसहित प्रहरीले सुन तस्करीमा भरियाका रुपमा काम गर्ने दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपालबहादुर शाहीलाई पक्राउ गरेको थियो।

विमानस्थलबाट सुन तस्करीमा सघाएको आरोपमा एसएसपी श्याम खत्री समेत पक्राउ परेका थिए। आफ्नै एसएसपी खत्रीलाई पक्राउ गरी हिरासतमा राखे पनि अहिले मुख्य नाइकेलाई ‘अतिथि’का रुपमा व्यवहार गर्दा सिआइबीकै प्रहरीहरुको शिर निहुरिएको एक अधिकारी बताउँछन्।

सुन काण्डमा भन्सारका कर्मचारीहरु श्रीनारायण यादव, राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठ पनि पक्राउ परेका थिए।  सिआइबीले करिब १७ करोड रुपैयाँको बिगो दाबी गरी ३३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। जसमध्ये भरियाका रुपमा काम गर्नेहरु जेलमा छन् तर तस्करीका नाइके भनेर प्रहरीले मुद्दा चलाएका अधिकांश भने धरौटीमा छुटेका छन्। मुख्य नाइके भुसाल पनि धरौटीमा सजिलै छुट्न सफल भएका छन् ।

नेपाल लाईभबाट

प्रतिक्रिया दिनुहोस्