७ जेष्ठ २०८१, सोमबार

 

यसरी मनाईंदै छ बागलुङमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बागलुङमा पनि विभिन्न कार्यक्रम गरिने भएको छ । हरेक बर्ष २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म सञ्चालन गरिने अभियान अन्तर्गत लैङगिक हिंसा विरुद्ध अन्तरक्रिया एवं खाद्यन्न सामाग्री प्रदान गर्ने कार्यक्रम छ ।

महिला तथा बालबालिका कार्यालय बागलुङको आयोजनामा मंगलबार राजनीतिक दलका महिला अगुवा, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि एवं पत्रकारसंग छलफल भएको थियो । महिला विकास अधिकृत डिलकुमारी शर्माले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको व्यस्तताले कार्यक्रम प्रभाववित गरेको वताईन् । उनले अभियानमा सचेतनामुलक कार्यक्रम गरिने जानकारी दिईन् ।

सो अवसरमा यही मंसिर १९ गते कार्यालय प्रमुख, महिला अधिकारकर्मी तथा राजनैतिक दलका प्रतिनिधिहरु बीच अन्तरक्र्रिया र २० गते मानव सेवा आश्रम र निरयघाटमा रहेको बृद्धाश्रमलाई खाद्यन्न सामाग्री हस्तान्तरण गर्ने बताइएको छ ।

लैङगिक हिंसालाई पनि सामाजिक हिंसाका रुपमा लिएर सामाजिक परिपाटी विरोधी कार्यक्रमलाई पनि संगै लैजानुपर्ने सहभागीको भनाई थियो । लैङगिक हिंसाबाट महिला मात्रै नभई पुरुषहरु पनि हिंसामा पर्ने भएकाले सबैलाई एक साथ लिएर अगाडी बढ्नुपर्ने बताएका थिए ।

दु्रत न्यायप्रणाली, सुरक्षा संयन्त्रको विकास र विस्तार नहुँदा पिडितलाई न्याय र पिडकलाई सजाय हुने अवस्था अझै पनि सिर्जना हुन नसकेको पनि देखिन्छ । हिंसा पिडितको संरक्षा र सुरक्षाको भरपर्दो व्यवस्था र पिडकलाई कडा कारबाही हुने व्यवस्था राज्यले गर्न नसक्दा कतिपय महिलाहरु हिंसा सहन बाध्य भएका छन् ।

हिंसाका घटनामा दण्डहीनताको अन्त्य गर्न कनून कडाईका साथ लागू गर्ने, बलात्कार सम्बन्धि कानूनको पूनरावलोकन, निशुल्क कानूनी सहायता र विशेष सेवा प्रदान गरेर महिला र बालिकाहरुको न्यायमा पहुँच बढाउने कुरा सुनिश्चित गर्न अधिकारकर्मीले माग गरेका छन् ।

कार्यक्रममा शकुन्तला शर्मा, मनकुमारी केसी, लक्ष्मी बास्कोटा, कुशुम बुढा, उषा पौडेल, कोपिला कँडेल, अम्बिका शर्मा लगायतले नेपालमा महिला तथा बालिका विरुद्ध हुने हिंसा व्याप्त रहेको र यस्ता घटना दण्डहीनताका साथ हुने गरेको बताएका थिए । कार्यक्रम महिला तथा बालबालिका कार्यालय बागलुङका सुचना अधिकारी सरस्वती रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्