
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखलाई शुक्रबार साक्षर वडा घोषणा गरिएको छ । शिखमा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समुहका ९५ प्रतिशतभन्दा बढी नागरिकले अंक अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर वडा घोषणा गरिएको हो । विद्यालयको ६३ औ वार्षिक उत्सवको अवसर पारेर साक्षर वडा घोषणा गरिएको प्रअ जगदिश आचार्यले जानकारी दिए ।
जिल्ला शिक्षा कार्यालयका अनुसार ५८२ घरधुरीको बसोबास रहेको शिखका २ हजार ७ सय ७० जनसंख्या मध्ये १५ देखि ६० वर्ष उमेर समुहका ९५.१६ प्रतिशतले अंक र अक्षर लेखपढ गर्न सक्ने भएका छन् । सोही अवसरमा ब्रिटीस वेयलफेयरको सहयोगमा निर्माण हुन लागेको ८ कोठे भवनको जिशिअ रामकुमार श्रेष्ठ र शिखका सेवा निवृत पुर्व गोर्खा सैनिकहरुले संयुक्त रुपमा शिलन्यास गरेका थिए । वयलफेयरले एक करोड ३५ लाख रुपैया लागतमा भुकम्प प्रतिरोधि क्षमताको पक्कि भवन निर्माण गर्न लागेको हो ।
जिशिअ श्रेष्ठले विद्यालयमा मेला जात्रा सञ्चालन गर्दा पठन पाठनका साथै सामाजिक सुरक्षामा असर गरेकाले विद्यालय बन्द गरेर मेला जात्रा लगाउने परम्परालाई हटाउन आग्रह गरे । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगर, वडा अध्यक्ष दिनेशकुमार तिलिजा, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष बागबिर पाईजा, स्रोत व्यक्ति दुर्गाराम सुवेदी, जयराम सुवेदी, लर्न संस्थाका कृष्ण तिलिजा र तेशबहादुर पाईजाले मन्तब्य व्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बुद्धुजा पुनको अध्यक्षता, प्रअ जगदिश आचार्यको स्वागत र शिक्षक सेते तिलिजा पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।