२३ असार २०८२, सोमबार

 

म्याग्दीको रघुगंगा गाउँपालिकाका तिन वडा एकै पटक साक्षर घोषणा

म्याग्दीको रघुगंगा गाउँपालिकाका तीन वटा वडालाई बुधबार साक्षर घोषणा गरिएको छ । रघुगंगा गाउँपालिका–१ बेगखोला, २ भगवती र ३ पिप्लेलाई एकैसाथ साक्षर वडा घोषणा गरिएको हो । यो संगै ८ वटा वडा रहेको रघुगंगा गाउँपालिकाका ५ वटा वडा साक्षर घोषणा भएका छन् । यस अघि वडा नम्बर ४ दग्नाम र वडा नम्बर ८ कुईनेमंगलेलाई साक्षर वडा घोषणा गरिसकिएको थियो ।

मुक्तिधाम माविमा आयोजित घोषणा कार्यक्रममा बोल्दै केसीले घोषणालाई व्यवहारमा उतार्न आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा निमित्त जिल्ला शिक्षा अधिकारी विश्वप्रकाश रेग्मी, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद चापागाई, मुक्तिधाम माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्ल, वडा नम्बर १ का अध्यक्ष बिलबहादुर फगामी, वडा नम्बर २ का वडा अध्यक्ष रिमबहादुर कटुवाल, रघुगंगा माविका प्रअ रमेशसिंह ठकुरी, राजनितिक दलको तर्फबाट नेकपा एमालेका ध्रुव सुवेदी, नेकपा माओवादी केन्द्रका नरबहादुर भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षता, मुक्तिधाम माविका प्रअ अमरबहादुर केसीको स्वागत र शिक्षक विष्णु रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्रोत व्यक्ति दुतबहादुर गर्वुजाले तीनवटै वडामा कुल जनसंख्यामध्ये १५ देखि ६० बर्ष उमेर समहुको जनसंख्याको ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनका अनुसार, जिल्ला शिक्षा कार्यालयको प्राप्त तथ्याङ्क र विद्यालय तथा वडा कार्यालयहरुले गरेको घरधुरी सर्वेक्षण अनुसार बेगखोलाको लक्षित जनसंख्या १ हजार ७० मध्ये १ हजार ५८ जना अर्थात ९८ दशमलव ८७ प्रतिशत, भगवतीको २ हजार ७१ मध्ये १ हजार ९ सय ७८ अर्थात ९५ दशमलव ५० प्रतिशत र पिप्लेमा ३ हजार १८७ मध्ये ३ हजार ७८ अर्थात ९६ दशमलव ५७ प्रतिशत लक्षित जनसंख्या साक्षर बनेको पाईएको छ ।

१५ देखि ६० वर्ष उमेर समुहको जनसंख्यामध्ये ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको पाइएमा ती वडा, स्थानीय तह तथा जिल्लालाई साक्षर घोषणा गर्न सकिने सरकारी नितीरहेको छ । गाउँपालिकाका वडा नम्बर ५ झिँ, वडा नम्बर ६ पाखापानी र वडा नम्बर ७ चिमखोलालाई यहि मंसिर २७ गते साक्षर वडा घोषणा गरि सिंगो गाउँपालिकालाई नै साक्षर घोषणा गर्ने तयारी गरिएको छ ।

साक्षर वडा घोषणा भएका ठाउँमा बाँकी निरक्षर जनसंख्यालाई समेत निरन्तर सिकाई कार्यक्रम मार्फत नव साक्षरहरुको साक्षर सिपलाई दिगो बनाउँदै सवै वडालाई पूर्ण साक्षरतर्फ उन्मुख गराउने कार्यक्रममा सहभागी सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । म्याग्दीलाई आगामी माघ ८ गते बसन्त पञ्चमीको दिन साक्षर जिल्ला घोषणा गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung