२४ असार २०८२, मंगलवार

 

बेनीमा वाम गठबन्धनको विजय उत्सव

- जनतासंग गरेका बाचा पुरा गर्ने नवनिर्वाचित सांसदको दृढता

प्रतिनिधि र प्रदेशसभा चुनावमा म्याग्दीका तिन वटै सिट जितेको नेकपा एमाले र माओवादी केन्द्रले शनिबार बेनीमा विजय उत्सव मनाएका छन् । नवनिर्वाचित जनप्रतिनिधि सहित एमाले र माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुले सदरमुकाम बेनी बजारमा बृहत ¥याली सहित खुल्ला मञ्चमा आमसभा गरेर मतदातालाई धन्यवाद दिनुका साथै खुसीयाली मनाएका हुन् । सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापाले जनतासंग भोट माग्न जाने क्रममा गरेको बाचा पुरा गर्ने र म्याग्देलीको शिर ठाडो पार्ने गरी काम गर्ने बताए ।

चुनावी परिणामले एमाले माओवादीको तालमेललाई एकतामा परिणत गर्न बल पुगेको बताउँदै थापाले नेपालमा कम्युनिष्टको नेतृत्वमा स्थीर सरकार बनेर विकास र सम्बृद्धी भएको हेर्ने जनताको चाहना पुरा गर्ने बताए । म्याग्देली जनताको समस्या, आवश्यकता र सम्भावनालाई पहिचान गरि जिल्लाको विकास र सम्बृद्धीका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्ने बताए । प्रदेशसभा क्षेत्र (ख)मा विजयी भएकी एमाले नेतृ नरदेवी पुनले गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीमा आम नागरीकको पहुँच बढाउन प्राथमिकता दिने बताए । म्याग्दीको प्राकृतिक र मानवीय स्रोत साधनलाई परिचालन गरि रोजगारी सिर्जनासंगै महिलाको समग्र विकासका लागि शिक्षा र आयआर्जनमा पहुँच बढाउनुपर्ने पुनले बताए । नेपालमा राजनितिक स्थिरता र कम्प्युनिष्टको एकताका लागि जनताले दिएको मतको कदर हुने विश्वास व्यक्त गरेका थिए ।

प्रदेशसभा क्षेत्र (क)मा निर्वाचित भएका माओवादी केन्द्रका बिनोद केसीले जनताको आवश्यकताको परिपुर्ती र समस्या समाधानका लागि मतदातासंग गरेका बाचा पुरा गर्ने दृढता व्यक्त गरे । जनताको सेवकको रुपमा रही विश्वासलाई गुम्न नदिने प्रतिबद्धता जनाएका थिए ।
जलविद्युत, कृषि, पर्यटन, जडिवुटी लगायतका प्राकृतिक स्रोत साधनको परिचालन गरि रोजगारी सिर्जना, विकास र सम्बृद्धी हाँसील गर्ने अभियानमा जुट्न केसीले आग्रह गरे । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले वाम तालमेललाई एकतामा परिणत गर्दै सम्बृद्धी र विकास वामपन्थीको प्राथमिकता भएको बताए । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले राजनितिक स्थिरता कायम गरि विकास र सम्बृद्धीको अभियानमा जुट्न आग्रह गरे ।

नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीको स्वागत र माओवादी केन्द्रका सुवास बिकले सञ्चालन गर्नुभएको कार्यक्रम समापन गर्दै एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले पैसाको खोलो बगाउने, भ्रमको खेती गर्ने, जातीय नारा लगाउने र डर त्रास देखाउनेलाई म्याग्देली जनताले सबक सिकाएको बताए । यसैगरी नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त विज्ञप्ती जारी गर्दै मतदाता र चुनाव सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung