
बागलुङको बडिगाड गाउँपालिका–२ मा बुधबार भएको सवारी दुर्घटनाका गम्भिर घाईते एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ ।
ढोरपाटन नगरपालिका–१ का ३६ वर्षिय खगेन्द्र विसिको मृत्यु भएको ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपालीले जानकारी दिए । उनलाई काठमाण्डौको ग्राण्डि अस्पताल लैजाने क्रममा उडिरहेको हेलिकप्टरमै मृत्यु भएको हो । ‘हामीले घाईतेको तत्काल उद्धार गरि दुईजनालाई काठमाण्डौ पठाएका थियौँ,’ नगरप्रमुख नेपालीले भने, ‘हेलि उडिरहेकै अवस्थामा एक जनाको मृत्यु भएपछि पोखरा ल्याण्ड गरेर अर्का घाईतेको गण्डकी अस्पताल पोखरामा उपचार हुँदैछ ।’
घाईते ढोरपाटन नगरपालिका–१ कै २७ वर्षकका सुरेन्द्र वोहोरालाई गण्डकी अस्पतल पोखरामा उपचार गर्न लागिएको हो । यसअघि बागलुङका प्रहरी प्रमुख एसपी दिपक रेग्मीले उनीहरु दुबैजनालाई हिकप्टर मार्फत ग्राण्डी अस्पताल काठमाण्डौ पठाईएको जानकारी दिएका थिए ।
तीनै जना घाईतेको सुरुमा गुल्मी मुसिकोटको मल्ल मेडिकल हलमा उपचार गरिएको थियो । यीमध्ये सामान्य घाईते सोही ढोरपाटन–१ कै २६ वर्षका भरत विसिको भने अहिले पनि मल्ल मेडिकलमा उपचार हुँदैछ ।
बडीगाड गाउँपालिका–२ काँडेरुख नजिकै पिकअप भ्यान र दुई मोटरसाईकल एकै ठाउँमा ठोक्किएर भएको दुर्घटना भएको हो । मध्यपहाडी लोकमार्गमा खर्वाङबाट ग्वालीचौरतर्फ जाँदै गरेको ना ४च३६६७ नम्बरको पिकअप भ्यानसँग विपरित दिशामा जाँदै गरेका ध १ प ३२४६ र बा ५५ प ८०५० नम्वरका मोटरसाईकल ठोक्किएका हुन् । पिकअप भ्यानसहित चालक खर्वाङ प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब निरीक्षक लाल वहादुर चौधरीले जानकारी दिए ।
बुर्तिवाङवाट वुटवल जाँदै गरेका दुई मोटरसाईकल अगाडी गुडिरहेको यात्रुवाहक बसलाई ओभरटेक गर्ने क्रममा पिकअपसँग ठोक्किएका स्थानियले वताएका छन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।