
बेनीमा रहेको प्रकाश माविको ६५ औँ स्थापना दिवस तथा निलमणि जयन्ती आईतबार एक समारोहको आयोजना गरि मनाइएको छ । विद्यालय परिसरमा जनप्रतिनिधि, विद्यालयका व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावकहरुको उपस्थितीमा विशेष समारोहको आयोजना गरेर स्थापना दिवस मनाइएको हो । सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले सामुदायीक विद्यालयले शैक्षिक गुणस्तर वृद्धिमा जोड दिए ।
प्रदेशसभा सदस्य नरदेवी पुन र बिनोद केसीले सामुदायीक विद्यालयले अभिभावकको विश्वास जित्ने चुनौती रहेको बताए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले म्याग्दीको शैक्षिक इतिहाँसमा विशिष्ट योगदान गरेको प्रकाश माविको भुमिका अबको दिनमा अझै बढ्नुपर्ने बताए ।
यसैगरी नेपाली काँग्रेसका सचिव मिनबहादुर कार्की, नेकपा एमालेका सचिवालय सदस्य सुरज केसी, माओवादी केन्द्रका गोविन्द पौडेल, बेनपा ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ, गैरसरकारी संस्थाका अध्यक्ष हरिप्रसाद पौडेल, जग्गादाता नैनकुमार श्रेष्ठ र शिक्षक अभिभावक संघका अध्यक्ष रहमद खानले मन्तव्य व्यक्त गरेका थिए ।
सोही अवसरमा विद्यालयको इतिहाँस, वर्तमान अवस्था र गतिविधिहरु समेटिएको नवप्रकाशको प्रतिनिधिसभा सदस्य थापाले विमोचन गरेका थिए । व्यवस्थापन समितिका अध्यक्ष नविनकुमार श्रेष्ठको अध्यक्षता, शिक्षक बिनय श्रेष्ठको सञ्चालन र सहायक प्रअ लेखबहादुर हमालको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा प्रअ हरिकृष्ण सुवेदीले विद्यालयको गतिविधि प्रस्तुत थिए ।
विद्यार्थीहरुले गित, नृत्य र राष्ट्रिय सेवा दलको तालीममा सहभागिले कलाकौशल प्रस्तुत गरेका थिए । वि.स २००९ सालमा बेनीमा स्थापना भएको प्रकाश मावि म्याग्दीको पुरानो मध्यको शैक्षिक संस्था मानिन्छ । दश जोड दुई तहमा विज्ञान संकायको पठनपाठन हुने प्रकाश मावि जिल्लाको एकमात्र शैक्षिक संस्था हो । प्रकाश माविको विभिन्न तहमा एक हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । स्थापना दिवसको अवसरमा त्रिदिवसीय कार्यक्रम आयोजना गरिएको थियो । शुक्रबार बेनीमा ¥याली गरिएको थियो भने शनिबार विभिन्न खेलकुदका कार्यक्रम भएका थिए ।