
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ मेघावाट क्षमताको घलेम्दीखोला जलविद्युत अयोजना निर्माण गरिरहेको घलेम्दी हाइड्रो लिमिटेडको अध्यक्षमा किसोर सुवेदी चयन भएका छन । कम्पनीको शनिबार बेनीमा सम्पन्न चौथो साधारण सभाबाट सुवेदी पुनः अध्यक्षमा चयन भएका हुन ।
साधारण सभाबाट सञ्चालक सदस्यहरुमा प्रमोद श्रेष्ठ, नारायणबाबु अधिकारी, उत्तम प्रसाद बैद्य, सरदराज श्रेष्ठ, टंकप्रसाद बरुवाल, कम्पनी सचिवमा बिमल रिजाल र शम्भु तिमल्सिनालाई कानुनी सल्लाहकारमा चयन गरिएको छ । कार्यक्रममा घलेम्दी हाइड्रो लिमिटेडका कार्यकारी अध्यक्ष किसोर सुवेदीले आयोजनाको करिब ८० प्रतिशत पूर्वाधार निर्माणको काम सम्पन्न भएको जानकारी गराएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले स्थानीय उद्योगी, व्यवसायीहरुको पहलमा निर्माण भईरहेको घलेम्दीखोला जलविद्युतले जिल्लामा जलविद्युत क्षेत्रमा स्थानीयलाई लगानी र रोजागारिको अवसर सृजना गरेको बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य विनोद केसी र जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले आयोजनालाई निर्धारित समयभित्रै सम्पन्न गरि जिल्लामा रहेका अन्य जलविद्यूत आयोजनाहरुको लागि सकरात्मक सन्देश दिन लगानीकर्ताहरुलाई आग्रह गरेका छन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, शेयर सदस्य डाक्टर मायाँकुमारी शर्मा, देविभक्त ढकाल, नेपाल पत्रकार महासंघ म्याग्दीका सचिव गोरखनाथ सुवेदी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन हरिकृष्ण गौतमले गरेका हुन । कम्पनीले निर्माण गरिरहेको घलेम्दीखोला जलविद्युत आयोजनाको काम आगामी बैशाख अगाबै पूर्वाधार निर्माणको काम सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।