६ कार्तिक २०८३, बिहीबार

 

साढे तीन दशक सेवा गरेका पुर्व प्रअ सुवेदीको विदाई

- शिक्षामा गरेको योगदानप्रति जिशिअ शर्माले खुलेर गरे प्रशंसा

नेपाल माध्यमिक विद्यालय ताराखोलाले साढे तीन दशकसम्म विद्यालयमा शिक्षण सेवा दिएका पूर्व प्रधानाध्यापकलाई सम्मानसहित भव्य विदाई गरेको छ ।  गुल्मीको चन्द्रकोट गाउँपालिका घरभई विक्रम संवत २०३९ सालदेखि अहिलेसम्म निरन्तर नेपाल माविमै शिक्षण गरेका पूर्व प्रधानाध्यापक भिमनाथ सुवेदीलाई विदाई गरिएको हो।

विद्यालयमा भएको कार्यक्रममा सुवेदीलाई बागलुङका जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद शर्माले सम्मानपत्र प्रदान गर्दै विदाई गरे । कार्यक्रममा बोल्दै जिशिअ शर्माले जीवनको उर्जाशिल समय ताराखोला क्षेत्रको शिक्षणमा योगदान गरेकोमा सुवेदीको खुलेर प्रशंसा गरे । ‘उनले साढे तीन दशक एउटै विद्यालयमा रहेर सेवा गरेका थिए, यो निकै प्रशंसनिय कार्य हो,’ शर्माले भने, ‘विदाईमा देखिएको विद्यालय परिवार र यहाँको समुदायको सघन उपस्थितीले उहाँको योगदानलाई उच्च रुपमा कदर गरेको मैले मैले महसुस गरेँ ।’

उनले विगतमा निकै दुर्गम मानिने बागलुङको ताराखोलामा आएर यहाँको शिक्षामा सुवेदीले गरेको योगदानप्रति जिल्ला शिक्षा कार्यालय नै आभारी रहेको बताए । विद्यालयको तर्फबाट फुल, माला, खादा र मायाँको चिनोसहित सम्मान गरेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवश खत्री पदमले आफुलाई पढाएका गुरुलाई अध्यक्षको हैसियतमा विदाई गर्दा निकै भावुक बनेको बताए । ‘हाम्रो ठाउँको शिक्षाको विकासमा भिमनाथ गुरुको योगदानलाई शब्दमा वर्णन गरेर सकिँदैन, गुरुले आफ्नो जीवनको केही गरौँ भन्ने जोशिलो उमेर हाम्रो सामाजमा खर्चिनुभयो,’ खत्रीले भने, ‘तपाईको योगदान यो समाजले कहिल्यै भुल्ने छैन ।’

विद्यालयका प्रधानाध्यापक थमप्रसाद रोकाले आफुलाई पढाएका र लामो समय शिक्षणमासँगै सहकार्य गरेका गुरुको विदाईले अबका दिनमा विद्यालयमा उनको भूमिकाको अभाव खड्कीने बताए । विदाईमा अविर, खादा र मालाले छोपिएका पूर्व प्रअ सुवेदीले आफ्नो कार्यकालमा विद्यालयलाई निमावि, मावि हुँदै उच्च मावि बनाउन पाएकोमा खुसी व्यक्त गरे । उनले नेपाल माविलाई अब क्याम्पसको रुपमा विस्तार गर्नुपर्ने सुझाव दिए । आफ्नो जीवनको आधाभन्दा बढी समय विताएको विद्यालय र ठाउँलाई छोडेर जादाँ आफुलाई दुख लागेको उनले बताए । उनले आफ्नो भावना सँधै नेपाल मावि र ताराखोला क्षेत्रसँग जोडिने उल्लेख गरे ।

सो अवसरमा बागलुङका सहायक जिल्ला शिक्षा अधिकारी कुश्माराज उपाध्याय, स्रोतव्यक्ति डिल्लिप्रसाद शर्मा, शिक्षक अभिभावक संघका सदस्य राजन खत्री, शिक्षिका हुमाकुमारी कँडेल लगायतले पुर्व प्रअको अगामी जीवन सफलताको कामना गर्दै विदाई मन्तव्य राखेका थिए । सो अवसरमा सुवेदीलाई शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, स्थानीयवासीलगायतले टिका, फुल, माला र मायाँको चिनो प्रदान गर्दै विदाई गरेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवश खत्री पदमको अध्यक्षता, शिक्षक विवेक परियारको स्वागत र अर्का शिक्षक रामलाल सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । २०३९ सालमा नेपाल माविको अस्थायी शिक्षको रुपमा सेवा सुरु गरेका सुवेदीले ५२ सालमा माद्यमिक तहको स्थायी शिक्षक हुँदै ५५ सालदेखि अहिलेसम्म प्रअको भूमिकामा रहेर योगदान गरेका थिए । ६० वर्षे उमेरहदका कारण उनले गत कार्तिक १२ गते अनिवार्य अवकाश पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung