५ कार्तिक २०८३, बुधबार

 

मालारानी आधारभूत विद्यालयको वार्षिकोत्सव : दरबन्दी अभावले तलव खुवाउन समस्या

मालारानी आधारभूत विद्यालय ताराखोला–५ ले ४० औँ वार्षिकोत्सव तीन दिने कार्यक्रमसहित मनाएको छ । वार्षिकोत्सवको अवसरमा आन्तरिक तथा अन्तरविद्यालय स्तरीय प्रतियोगितात्मक कार्यक्रम गरिएको थियो । विद्यालयको वार्षिकोत्सव समापनको अवसरमा मंगलबार भएको कार्यक्रममा बोल्दै ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले सिकाई उपलब्धि सुधारमा ध्यान दिन आग्रह गरे । उनले विद्यालय प्रशासन, शिक्षक र अभिभावक मिलेर अघि बढे सुधार सम्भव भएको बताए ।

‘सरकारी दरबन्दीका शिक्षक अभाव हुँदा विद्यालयलाई आफ्नै स्रोतबाट शिक्षकलाई तलवभत्ता व्यवस्थापन गर्न निकै चुनौती भएको मैले बुझेँ,’ उनले भने, ‘यो समस्या समाधानको लागि मैले सक्दो पहल गर्ने छु ।’विद्यालयको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक कर्णबहादुर केसीले नीजि स्रोतका शिक्षकलाई तलब भत्ता दिनमात्रै विद्यालयलाई वर्षमै झण्डै ८ लाख रकम नपुग हुने गरेको बताए ।

‘हाम्रोमा कक्षा ६ देखि ८ सम्म (आधारभूत तह) कुनै दरबन्दी नै छैन, प्राविमा भएको चार शिक्षकको दरबन्दीले मात्रै कसरी धान्ने ?,’ प्रअ केसीले प्रश्न गरे, ‘पाँच जना शिक्षकलाई विद्यालयको आफ्नै स्रोतले तलब खुवाउँदा वर्षमै ८ लाख रुपैयाँभन्दा बढीको व्ययभार हामीलाई पर्छ, यसलाई व्यवस्थापन गर्न गाउँपालिकाले पनि सोचिदिनुप¥यो ।’  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेतुलाल आचार्यले शिक्षाको गुणस्तर तथा भौतिक पूर्वाधार सुधारका लागि विद्यालयले आर्थिक अभियान सञ्चालन गरेको स्मरण गराउँदै सक्दो सहयोग गर्न सवैलाई आग्रह गरे ।

कार्यक्रममा ताराखोला–५ का वडा अध्यक्ष तथा विद्यालयका निवर्तमान प्रधानाध्यापक रामबहादुर रोका, शिक्षक अभिभावक संघका अध्यक्ष चण्डीप्रसाद सापकोटा, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार नन्दालाल कँडेल, दुर्गा भावानी माविका शिक्षक वृहस्पती कँडेल, विद्यार्थी मनिसा कँडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम अध्यक्ष आचार्यको अध्यक्षता, शिक्षिका देवी थापाको स्वागत र शिक्षक मनबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सो अवसरमा भएको प्रवितहको अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा आयोजक मालारानी आधारभूत विद्यालय प्रथम, दुर्गा भवानी मावि द्वितिय र नेपाल मावि तृतिय भए । आधारभूत तहको छात्र भलिबल प्रतियोगितामा नेपाल मावि प्रथम र आयोजक द्वितिय भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung