२४ असार २०८२, मंगलवार

 

महिलाहरुलाई प्याड बनाउने तालिम

उद्यमशिलता मार्फत महिलाहरुलाई समाजका हरेक क्षेत्रमा अगाडि बढाउने लक्ष्यका साथ पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा सेनेटरी प्याड बनाउने २ दिने तालिम शुक्रबारदेखि शुरु भएको छ । महिला चेतना केन्द्र पर्वतको आयोजना तथा साविक माँझफाट गाविसको आर्थिक सहयोगमा सञ्चालित तालिमको जिल्ला सहकारी संघ लिमिटेड बागलुङका कोषाध्यक्ष तथा आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका उपाध्यक्ष अञ्जु जिसीले उद्घाटन गरेकी हुन ।

सो अवसरमा बोल्दै जिसीले महिलाहरुमा रहेको ज्ञान र सीपलाई पूँजिमा परिणत गर्नका लागि राज्यका तर्फबाट सहजीकरण आवश्यक रहेको बताईन । समाजमा खेर गैरहेका वस्तुहरुको सही प्रयोग गरेर स्थानीय स्तरमा आयआर्जन गर्न सकिने कुरा आम महिलाहरुका बीचमा लैजानु पर्नेमा जोड दिदै उहाँले महिलाहरु नेतृत्व विकासका क्षेत्रमा अग्रसर हुनु पर्नेमा जोड दिईन ।

तालिममा सहभागीहरुका तर्फबाट बोल्दै सुनिता जिसीले आर्थिक विकास र सामाजिक रुपान्तरणका क्षेत्रमा महिला सहभागिता बढाउनका लागि क्षमता र नेतृत्व विकासमा जोड दिईन । तालिममा सेनेटरी प्याड, चुरा बनाउने विषयमा आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसीले सहजीकरण गरेकी हुन ।  घरमै खेर गैरहेका कपडा प्रयोग गरेर बनाउने प्याड सस्तो, सुलभ र स्वास्थ्यका दृष्टिले राम्रो हुने भएकाले महिलाहरुलाई प्याड बनाउने तालिम दिइएको महिला चेतना केन्द्रका अध्यक्ष हेमकुमारी अधिकारीले जानकारी दिईन ।

तालिममा साविक मल्लाज गाविसका ५० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिम उद्घाटन कार्यक्रम केन्द्रका अध्यक्ष हेमकुमारी अधिकारीको अध्यक्षता, उपाध्यक्ष निर्मला खत्रीको स्वागत र सचिव शान्ति जिसीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाको परिचयसंगै तालिमको उदेश्य र प्रभावकारीताका बारेमा केन्द्रका कोषाध्यक्ष तुलसी पौडेलले जानकारी गराएकी थिइन । संस्थाले सेनेटरी प्याड तालिम भन्दा पहिला पुस २७ गतेदेखि माघ २ गतेसम्म अगरवत्ती बनाउने तालिम सम्पन्न गरी सकेको छ भने यो तालिम पछि उद्घोषण तालिम सञ्चालन गर्ने जनाएको छ ।

२०६४ सालदेखि महिलाहरुको सशक्तिकरणका क्षेत्रमा काम गर्दै आइरहेको महिला चेतना केन्द्रले आयमुलक, शीपमुलक र चेतनामुलक तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । संस्थाले यस पूर्व विभिन्न चरणमा सिलाई कटाई, हाउस वायरिङ, उद्घोषण, नेतृत्व विकास लगायत आयआर्जनका लागि तरकारीका विरुवा वितरण, अगरवत्ती बनाउने लगायतका तालिम सञ्चालन गर्दै आइरहेको केन्द्रका अध्यक्ष हेम कुमारी अधिकारीले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung