बडिगाड गाउँपालिका मै पहिलो पटक व्यावसायीक अलैंची खेती र कृषि प्रवद्र्धन तथा पकेट क्षेत्र कार्यक्रम सुभारम्भ भएको छ । बडिगाड गाउँपालिकाको सहयोग तथा वडा नम्बर १ को दगातुन्डाँडा कृषक समुहको आयोजनामा कार्यक्रमको सुरुवात गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै बडिगाड गाउँपालिकाका प्रमुख मेयरसिंह पाईजाले आगामी आर्थिक वर्षमा कृषिको बजेट दोब्बर गराउने घोषणा गरेका छन् ।
कृषकको जिवन स्तर नउठेसम्म देश सम्वृद्ध नहुने भन्दै पाइजाले कृषि कार्यक्रमसँग सम्बन्धित सबै योजनालाई बजेट छुट्याउने बताए । नेपालको अलैंची कालो सुन भएको भन्दै पाइजाले दगातुन्डाँडालाई पकेट क्षेत्र घोषणा गरिएको बताए । पाइजाले ३ वर्ष भित्रमा बडिगाड गाउँपालिकाबाट केहि उत्पादनलाई निर्यात गर्न सक्ने गरि कार्यक्रम सुरु गर्ने बताए ।
कार्यक्रममा बडिगाड गाउँपालिका–३ का वडा अध्यक्ष तथा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास समितिका प्रमुख खड्क पुन, वडा नम्बर १ का अध्यक्ष तथा आर्थिक विकास समिति प्रमुख बोमबहादुर थापा, वडा नम्बर ६ का अध्यक्ष मौसम खत्री, कार्यकारी अधिकृत अर्जुन शर्मा, कार्यपालिका सदस्य केदार नेपाली, सोमन्ता सलामी, नेकपा एमालेका रेमबहादुर भुजेल, नेपाली काँग्रेसका प्रेमलाल पोखरेल, नेकपा माओवादी केन्द्रका ढालबहादुर नेपाली, राष्ट्रिय जनमोर्चाका प्रेमलाल गिरी, लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा दगातुन्डाँडा कृषक समुहका अध्यक्ष भिमसेन वनले कार्यक्रम प्रस्तुत गर्दै आइतबारदेखि अलैंची तालिम सुरु गर्ने, अलैंची खेती प्रबद्र्धन गर्ने प्रत्येक किसानले कम्तिमा १ रोपनी क्षेत्रफलमा अलैंची विरुवा रोप्ने, जसका लागि प्रति किसानलाई ४ सय विरुवा तथा औजार तर्फ छिनो र हसिया उपलब्ध गराउने जानकारी दिए ।
त्यस्तै कृषि प्रबद्र्धन कार्यक्रम तर्फ वडा नम्बर १ का सय रोपनी क्षेत्रफलमा मकै खेती पकेट क्षेत्र बनाउने, बाख्रापालन तर्फ १५ जनाको समुहमा १/१ उन्नत बोका वितरण गर्ने, फलफूल खेती तर्फ भुँइकटर, कागती र सुन्तलाका विरुवा वितरण गर्ने तथा प्रत्येक कार्यक्रमको लागि तालिम संचालन गर्ने र सबै कार्यक्रम असार ५ गते भित्र सम्पन्न गर्ने कार्यक्रम रहेको वनले जानकारी दिए ।
अलैंची खेतीको लागि आइतबारदेखि एक सय जना कृषकलाई तालिम सुरु गरिएको छ । तालिमका लागि जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत सुजित पौडेल सहितको टोलीले सहजिकरण गर्ने भएको छ । त्यस्तै मकै को लागि २५ गतेदेखि हुने तालिममा मकै बिउ विज्ञ विहानी थापा र सुदिप सुवेदी सहितको टोलीले सहजीकरण गर्ने र १ सय जना कृषक सहभागि हुने समुहका अध्यक्ष वनले जानकारी दिए ।
वडा नम्बर १ मा ३६ वटा कृषक उप–समुह गठन गरि कार्यक्रमको सुरु गरिएको छ । समुहले आगामी आर्थिक वर्ष व्यावसायीक किसानको लागि आधुनिक प्रविधि, भण्डारको लागि कार्यक्रम संचालन गर्ने र खाद्य सुरक्षा कायम गर्ने तथा मासुमा आत्म निर्भर गराउने बताएको छ ।कार्यक्रममा स्थानीय शिक्षक ध्रुब आचार्यले कृषि गित प्रस्तुत गरेका थिए । कार्यक्रम दगातुन्डाँडा कृषक समुहका उपाध्यक्ष पूर्णबहादुर थापाको अध्यक्षता, कोषाध्यक्ष सनु सुनार बरालीको स्वागत तथा सचिव सुर्यबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा मकै बाली तर्फ संयोजक धर्मराज वन, अलैंची खेती तर्फ संयोजक माया बुढाथोकी, बाख्रापालन तर्फ संयोजक भक्तबहादुर नेपाली, फलफुल तर्फ संयोजक चिन्ता भुजेललाई कृषि सामग्री वितरण गरिएको छ । कार्यक्रमका लागि बडिगाड गाउँपालिकाले चालु आर्थिक वर्षमा वडा नम्बर १ को लागि अलैंची खेती पकेट क्षेत्रका लागि १० लाख तथा कृषि प्रवद्र्धनका लागि १० लाख गरि कुल २० लाख बजेट विनियोजन गरेको थियो ।













































































































































































































