बागलुङ । देशभर रासायनिक मलको अभाव भइरहेका बेला बागलुङमा अवैध रूपमा मल बिक्री तथा ओसारपसार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार बागलुङका लागि ल्याइएको करिब २० बोरा रासायनिक मल अवैध रूपमा बिक्री गरी वीरगञ्ज लैजान लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा पर्साको छिपरमाई गाउँपालिका–६ घर भई लामो समयदेखि बागलुङमा बस्दै आएका ५३ वर्षीय दिनेश पण्डित कुम्हार, बागलुङ नगरपालिका–२ मा धौलागिरि बीउ भण्डार सञ्चालन गर्ने कुलबहादुर राना मगर र बागलुङ नगरपालिका–३ शिवधारा चोकमा कालीगण्डकी एग्रोभेट सञ्चालन गर्ने विनय शाक्य रहेका छन्।
प्रहरीका अनुसार पण्डितले धौलागिरि बीउ भण्डारबाट ५० केजीका ९ बोरा र कालीगण्डकी एग्रोभेटबाट १० बोरा युरिया मल खरिद गरी वीरगञ्ज जाने गाडीमा राखेका थिए।
मल ओसारपसार गरिरहेको फोटो तथा भिडियो प्राप्त भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
बागलुङस्थित साल्ट ट्रेडिङ कर्पोरेसनबाट सम्बन्धित डिलरहरूले बागलुङ जिल्लाका विभिन्न स्थानमा बिक्री वितरण गर्ने अनुमति लिएर मल खरिद गरेका थिए।
तर, तोकिएको जिल्लाभन्दा बाहिर मल बिक्री तथा ओसारपसार गर्न प्रतिबन्ध रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको मल प्रहरीले सुरक्षित राखेको छ। साथै, प्रहरीले सम्बन्धित बीउ तथा मल पसलका अभिलेख, रजिस्टर तथा अन्य कागजात नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईका अनुसार पक्राउ परेकामाथि ‘कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२’ को दफा ४ अन्तर्गत अनुसन्धान भइरहेको छ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय बागलुङबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
उक्त कानुनी व्यवस्थाअनुसार अवैध कारोबार तथा कालोबजारीमा संलग्नलाई एक वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
















































































































































































