
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि र पशु विकासको क्षेत्रमा बजेट थप गरेको छ । ठुलोबगरमा सोमबार भएको गाउँसभा बैठकले यस अघि विनियोजित बजेट संशोधन गर्दै कृषि र पशु विकासका लागि बजेट थप गर्ने निर्णय गरेको छ । गत असारमा भएको पहिलो गाउँ सभाले कृषि र पशु विकासका लागि १५१५ लाख रुपैया बजेट विनियोजन गरेको थियो । बजेट संशोधन गरेर कृषिमा ४० लाख र पशुमा ३० लाख रुपैया विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । कृषकहरु बिउबिजन र औषधी उपचार सम्बन्धि सेवा सुविधाबाट समेत बञ्चित हुने अवस्था आएकाले निराश बनेका थिए ।
कृषि र पशु सेवा शाखाले गाउँपालिकाका ८ वटै वडालाई समेटेर तयार पारेको प्रस्ताव स्विकृत गर्दै अन्य शिर्षकको बजेट कटौती गरेर उपलब्ध गराइएको अध्यक्ष पुनले बताए । गाउँपालिकाले तरकारी, आलु, सुन्तला खेती, भेडा, बाख्रा र चौरीपालनका साथै व्यवसायीक चिज उत्पादनलाई प्रोत्साहन पुग्ने योजना तथा कार्यक्रमलाई प्राथमिकता दिएको अध्यक्ष पुनले बताए ।
यस अघि विनियोजन भएको मध्य खानेपानी तथा सरसफाई र वनको १०१० लाख, संस्कृती, पर्यटन तथा नागरीक उड्यन र खेलकुदको ५५ लाख कटौटी भएको छ । गाउँपालिकाले ८ वटै वडामा ५५ लाखका दरले बजेट थप गरेको छ । सभामा गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले गाउँपालिका र वडाले संशोधन तथा रकमान्तर गरेका योजना तथा कार्यक्रम र बजेट विवरणको बारेमा जानकारी गराएकी हुन् । उपाध्यक्ष मगरले कार्यपालिका बैठकले पारित गरेको जनप्रतिनिधिको बैठक भत्ता यातायात र सञ्चार सुविधा तथा कर्मचारीको भ्रमण भत्ता सम्बन्धि प्रस्ताव गाउँ सभामा अनुमोदनका लागि प्रस्ताव गरेकी थिईन् ।
गाउँपालिकाका अध्यक्ष पुनको अध्यक्षता र ६ नम्बर वडाका अध्यक्ष तथा कार्यपालिकाका प्रवत्ता कृष्णप्रसाद बरुवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा २ नम्बर वडाका सदस्य बुद्धी पुनले स्वागत गरेका थिए । गाउँ सभामा मन्तव्य व्यक्त गर्दै नेकपा एमालेका खड्ग गिरीले स्थानीय तहलाई बलीयो बनाउन आर्थिक स्रोतको पहिचान, व्यवस्थापन र परिचालनमा प्राथमिकता दिन सुझाव दिए ।
नेपाली काँग्रेसका जिल्ला सदस्य बेलबहादुर पुर्जाले प्रभावकारी सेवा प्रवाह, व्यवस्थित र दिगो विकासमा जोड दिदै विकासको काममा सबै पक्षसंग समझदारी कायम गरेर अघि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । नेकपा माओवादी केन्द्रका पूर्णबहादुर पाईजाले झण्डा र दण्डाको आडमा टुक्रे नभई समुदायको आवश्यकतालाई हेरेर बृहत किसीमका योजना सञ्चालन गर्न सुझाव दिए । प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले सिमित जनशक्ति र स्रोत साधनको बिच सहज र सरल रुपमा सेवा प्रवाह गर्ने प्रयास गरेको बताउँदै बजेट बिनियोजन भएका योजनाको कार्यान्वयनमा जोड दिए ।