२५ असार २०८२, बुधबार

 

एमाले नेता कार्कीको निधन

नेकपा एमाले बागलुङले पार्टीका नेता हरिबहादुर कार्कीको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । स्वर्गीय कार्कीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर सम्मान गर्नुका साथै अन्तिम श्रद्धाञ्जली अर्पण गरी मंगलबार बागलुङ नगरपालिका–१ निर्णयघाटमा अन्त्येष्टी गरिएको छ । नेकपा एमाले जिल्ला कमिटि बागलुङका पूर्व सदस्य तथा वर्तमान सल्लाहकार कार्कीको सोमबार ५३ वर्षको उमेरमा निधन भएको थियो । एमाले केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मनकुमारी केसीले नेकपा एमालेको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएपछि कार्कीको अन्त्यष्टी गरिएको हो ।

स्वर्गीय कार्कीको पार्थिव शरिरमा उनका ८ वर्षिय नाती डेनियल कार्कीले दागवत्ती दिएका थिए । अन्त्येष्टीमा पार्टीका तर्फबाट शोक व्यक्त गर्दै एमाले नेतृ मना केसीले समाज विकासमा निरन्तर लाग्ने कार्कीको योगदानलाई स्मरण गरिन् । स्वर्गीय कार्कीले समाजको विकासका लागि गरेका कामलाई निरन्तरता दिन सकेमा सच्चा श्रद्धाञ्जली हुने उनले बताईन् । एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सभाका सांसद इन्द्रलाल सापकोटाले पार्टीका तर्फबाट प्रकाशित शोक वक्तत्व वाचन गरेका थिए ।

उनले एमाले नेता कार्कीको निधनले पार्टीले एक असल नेता र समाजले असल समाजसेवी गुमाएको बताए । अन्त्येष्टी कार्यक्रमको सञ्चालन एमाले जिल्ला सचिव लालबहादुर थापाले गरेका हुन् । काठेखोला गाउँपालिका वडा नं. ७, साविक रेश गाविसका पूर्व अध्यक्ष र जिल्ला विकास समिति बागलुङका सदस्य समेत भएर लामो समयसम्म जनप्रतिनिधिका रुपमा समाजसेवामा लागेका कार्की पछिल्लो समय रेश नुन्थला माविको व्यवस्थापन समितिको अध्यक्षका रुपमा कार्यरत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung