
सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको रकम नरोक्न अन्तरिम आदेश दिएको छ । नेपाल राष्ट्र बैंकले रोक्का गरेको झन्डै ४ अर्ब रकम निकासा गर्न पाउँ भन्दै व्यवसायी सुमार्गीले अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । राष्ट्र बैंकविरुद्ध नेपाल स्याटलाइट टेलिकम कम्पनीका तर्फबाट सुमार्गी र सुवासचन्द्र पौडेलले रकम निकासा माग गर्दै रिट दर्ता गराएका थिए ।
सन् २०१० जनवरीमा साइप्रसबाट नेपाल इन्भेस्टमेन्ट बैंकस्थित खातामा आएको ३ करोड ८५ लाख अमेरिकी डलर (३ अर्ब ९६ लाख रुपैयाँ) रोकिएको थियो । उद्योग विभागले लगानीको स्रोत नखुलेको भन्दै ०६९ चैत २८ गते रोक्का गर्न भन्दै राष्ट्र बैंकलाई पत्र लेखेको थियो । सोही पत्रअनुसार बैंकले बाँकी निकासा रोकेको थियो । तर, मंगलबार त्यसमध्ये २ अर्ब १४ करोड नरोक्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सो मुद्दामा अन्तरिम आदेश दिँदै पैसा रोक्ने कानुनी कारण पारदर्शी रूपमा देखिन नआउँदा खाता सञ्चालनमा अवरोध नगर्न नगराउन भन्दै आदेश दिएको हो ।आदेशमा दुवै पक्षलाई बृहत् छलफल गर्न उपयुक्त हुने हुँदा आगामी फागुन २ गते दुवै पक्षलाई उपस्थित हुन समेत भनिएको छ । सुमार्गीको पैसा रोक्नुपर्ने कानुनी आधार नभएको र लगानी बोर्डले विदेशी फिर्ता नलैजाने सर्तमा स्वीकृति दिएकाले रकम भुक्तानीका गर्न सर्वोच्चले आदेश दिएको हो ।