उत्पादन लिने समयमा विभिन्न रोग किराको प्रकोपले सताउन थालेपछि पर्वतका गोलभेंडा उत्पादक कृषक समस्यामा परेका छन् । लामो खडेरी पछिको वर्षासँगै गोलभेँडामा डढुवा रोगको संक्रमण देखिएपछि कृषकको चिन्ता चुलिएको हो । गोलभेडामा डढुवा, दानामा थोप्लो, पातमा कालो दाग, ढुसी जन्य रोग देखिएपछि तथा बोट मर्न थालेपछि गोलभेंडा कृषकचिन्तित बनेका हुन् ।
फलेवास सँगै जिल्लाको मोदी, पैयुँ र जलजला गाउँपालिकामा गोलभेँडामा डढुवाको संक्रमण देखिएको हो । बारीमा मात्रै नभएर टनेलभित्रका गोलभेँडाका बोट समेत धमाधम मर्न थालेको किसानहरुको गुनासो छ । पोहोर टनेलको गोलभेँडा बेचेर दुई लाखसम्म आम्दानी गर्नु भएका फलेवास नगरपालिका– ६ देवीस्थानका ओमप्रसाद भुसालले यस वर्ष लगानी उठाउन पनि मुश्किल भएको बताए । त्यस्तै जलजला गाउँपालिका रामु सुवेदीले विगतमा गोलभेँडाबाट ५ लाखसम्म आम्दानी गरेको बताउँदै यस बर्ष लगानी उठाउन समेत मुस्किल परेको गुनासो गरे ।
विगतका बर्षमा भन्दा यो बर्षमा गोलभेंडा ५० प्रतिशतले कमी आउने जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । यो बर्षमा एक हजार भन्दा बढि टनेलमा गोलभेंडा खेती गरिँदै आएको भएपनि लामो समयको खडेरीका कारण गोलभेंडामा ह्रास आउने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । बढ्दो रोग किराको दिर्घकालिन नियन्त्रणको लागि गोलभेडाको बगैंचा ब्यबस्थापनमा ध्यान दिनुपर्ने रेग्मीको सुझाव छ ।
त्यस्तै हाल देखिएको रोग किराको तत्कालिन ब्यबस्थापनको लागि रोग लागेको फल हटाउने, रोगी बिरुवालाई नष्ट गर्ने, तामा युक्त तथा ढुसिनासक बिषादी प्रयोग गरे केही हद सम्म कृषक आफैंले नियन्त्रण गर्न सक्ने जिल्ला कृषि बिकास कार्यलय पर्वतका बाली संरक्षण अधिकृत सोनी रानाले बताउनु भयो । पर्वतमा उत्पादित गोलभेंडा स्थानिय बजार सँगै बागलुङ, पोखरा, बुटुवाल जस्ता मुख्य शहरमा निर्यात हुँदै आएको छ ।























































































































































































