
म्याग्दीका ग्रामीण सडकको स्तरोन्नतीका क्रममा नाली नबनाउँदा योजनाको दिगोपनामा चुनौती देखिएको छ । भिरालो जमिनमा निर्माण भएका सडकको भल व्यवस्थापन गर्ने नाली प्रमुख पूर्वाधार हो ।
सडकसंग जोडिएका जग्गाधनीको बिरोध, अवरोध, बजेटको कमी र उपभोक्तामा प्राविधिक ज्ञानको अभावका कारण सडक स्तरोन्नती सम्बन्धि योजनामा नाली निर्माणले प्राथमिकता पाउन सकेको छैन् ।
नाली नहुँदा हिउँदभरी खनिएका तथा स्तरोन्नती भएका एक, दुई दिन वर्षा हुनेवित्तिकै सवारी आवत जावत प्रभावित हुने समस्या रहेको बेनपा १० पात्लेखेतका कार्यबाहक वडा अध्यक्ष लोकबहादुर पुनले बताए ।
बेनी नगरपालिका कार्यालयले ९ नम्बर वडाको सिमाना अलवाङ पात्लेखेतको ओखले हुदै रघुगंगा गाउँपालिकाको सिमाना घट्टेखोला सम्मजोड्ने दुई किलोमिटर ५०० मिटर सडक स्तरोन्नतीका लागि चालु आर्थिक वर्षमा २१ लाख ५० हजार रुपैया विनियोजन भएकोमा ३१ प्रतिशत घटेर भगवती मालीका कन्ट्रक्सनले ठेक्का लिएको छ ।
निर्माण कम्पनीले डोजर लगाएर साढे तिन मिटर चाक्लो सडकलाई कम्तीमा छ मिटर फराकीलो बनाए पनि नाली बनाउने र हिलो जम्ने ठाउँमा ढुङ्गाको सोलीङ गर्ने जस्ता काम नगर्दा लगानी खेर जाने खतरा भएकोमा कार्यबाहक वडा अध्यक्ष पुनले चिन्ता व्यक्त गरे ।
यसैगरी बेनपा ९ को गिठेनी देखि पात्लेखेत हुदै झिँको सिमानासम्म साढे तिन किलोमिटर सडक चक्लाउने, ग्रेड र मोड सुधार गरीए पनि नाली बनेको छैन् । उपभोक्ता समितिका अध्यक्ष मसबिर रोकाले नगरपालिकाको चार लाख, स्थानीयबासी, वन, युवा क्लव आमा समूहको सहयोग तथा ऋण गरी १३ लाख रुपैयाको लगानीमा सडक फराकीलो बनाए पनि बजेट अभावमा नाली बनाउन नसकिएको बताए ।
नगरपालिकाले दश लाख रुपैया बिनियोजन गरेको गलेश्वर काउलेगौडा पात्लेखेत सडक स्तरोन्नती योजना मार्फत भने धेरैजसो ठाउँमा नाली बनेको छ । दश लाख रुपैया बिनियोजित अर्थुङ्गे थाकनपोखरी भिरमुखी सडक स्तरोन्नती योजनाको उपभोक्ता समितिका अध्यक्ष गोविन्द बानियाले प्रभावित क्षेत्रका बासिन्दाले आफ्नो घर अगाडीबाट सडक बनोस र जग्गमा पानी नपरोस भन्न सोचाइ राख्दा काम गर्न समस्या भएको बताए ।
जनप्रतिनिधी, प्राविधिक र उपभोक्ता समितिले स्थानीयबासीलाई नालीको महत्व र आवश्यकता बुझाउन नसक्नु प्रमुख चुनौती रहेको अध्यक्ष बानियाको भनाई छ । नगरपालिकाका ईञ्जिनियर बिमलरञ्जन कार्कीले पहाडी क्षेत्रको सडकमा नाली अनिवार्य भएको बतााए ।
ईञ्जिनियर कार्कीले सडकलाई मापदण्ड अनुसार फराकीलोसंगै टेवा पर्खाल, कजवे, सोलीङ, ढलान गरेर स्तारोन्नती गरेमा सहज रुपमा नियमित सवारी सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने बताए । नगर उपप्रमुख सञ्जु बरुवालको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, योगेन्द्रमान शेरचन, वडा अध्यक्षहरु बेलबहादुर चोखाल, लोकबहादुर पुन, लक्ष्मण बानिया सहतिको टोलीले सोमबार घतान, पात्लेखेत, अर्थुङ्गे र भिरमुनी क्षेत्रका योजनाहरुको अनुगमन गरेको थियो ।
योजनाको कामलाई प्रभावकारी, गुणस्तरीय बनाउन र स्थानीय स्तरमा देखिएका समस्या पहिचान तथा समाधानका लागि पहल गर्ने उद्देश्यले नगरपालिकामा सञ्चालित योजनाहरुको स्थलगत अनुगमन तिब्र बनाइएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।