
पर्वतको फलेवास नगरपालिकाले बुधबार देखि एकिकृत सम्पति कर संकलन गर्न शुरु गरेको छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले आफ्नै वडा कार्यालयमा पुगेर कर तिरेर नगरपालिकाका सबै वडामा एकैपटक एकिकृत सम्पति कर संकलन गर्न सुरुवात गर्नुभयो । पछिल्लो पटक गठन भएका नगरपालिकाहरुमा एकिकृत सम्पतिकर लगाउने फलेवास पहिलो नगरपालिका भएको दाबी गरिएको छ ।
फलेवास नगरपालिकाले ११ वटै वडा कार्यालयबाट एकिकृत सम्पतिकर संकलन गर्न सुरु गरेको हो । नगरभित्र रहेका ५ हजार ८ सय ८३ घर परिवारलाई नै करको दायरमा ल्याउँने गरि अभियान शुरु भएको नगरपालिकाले जनाएको छ । प्रमुख शर्माले फलेबास नगरपालिका वडा नं १ को कार्यालयमा आफ्ना पिता संगै पुगेर कर तिर्नुभएको थियो भने सोही वडामा वडा अध्यक्ष बाबुराम शर्माले पनि कर तिरेर सुरुवात गर्नुभएको थियो । सबै वडामा वडा अध्यक्ष, जनप्रतिनिधीले कर बुझाएका छन । वडा नं ४ मा वडा अध्यक्ष टिकाराम गौडेल, वडा सदस्यहरु र प्रमुख प्रशासकिय अधिकृत मोतीराम सापकोटाले समेत कर बुझाउनुभएको थियो । पहिलो दिन मात्रै १ लाख ५० हजार भन्दा बढी राजस्व संकलन भएको छ ।
नगरपालिकाले चालु आर्थिक बर्षमा एकिकृत सम्पतिकरबाट १ करोड ३० लाख रुपैया संकलन गर्ने लक्ष्य राखेको प्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । प्रमुख शर्माका अनुसार नगरपालिकाका सबै क्षेत्रमा शहर भन्दा बढी गाउँ र कृषकहरु नै भएका कारण मालपोत शुल्क भन्दा पनि कम शुल्क लिएर एकिकृत सम्पति कर शुरु गरिएको छ । जग्गाको मुल्यकाँन मालपोत कार्यालयले भन्दा पनि कम छ भने घर र अन्य सम्पतिको पनि त्यही अनुसार मुल्याँकन गरिएको छ । ‘सामान्य कृषकहरुले एक सय रुपैयाँ भन्दा पनि कम कर तिरे पुग्ने गरि करको दर निर्धारण गरिएको छ । ’ उहाँले भन्नुभयो ‘एकिकृत सम्पति कर भनेपनि कृषकहरु र सामान्य नागरिक मर्कामा नपरुन भनेर सस्तो दरमा संकलन गर्न थालेका हौ, यसबाट सर्वसाधरण मर्कामा पर्दैनन् ।’
नगरपालिकाले यसअघि एक सय भन्दा बढी कर्मचारी र स्वयँसेवक खटाएर प्रत्येक घरमा पुगेर बिबरण संकलन गरेको थियो । प्रत्येक घरको आर्थिक, पारिवारिक बिबरण संकलन गरिएको छ । नगरपालिकाले गुरुयोजना निर्माण गर्न लागेकाले त्यसका लागि समेत उक्त तथ्याँक प्रयोग हुने प्रमुख शर्माले जानकारी दिनुभयो ।