
दुई वर्ष पहिले जिल्लाको दुर्गम भनिएको क्षेत्रबाट सदरमुकाम सम्म पुग्न ३ दिन लाग्थ्यो । अहिले त्यही क्षेत्र हुँदै लोकमार्ग गए पछि विहान हिँडेको बेलुका सदरमुकाम पुगिन्छ । पहिले दुर्गम भनिएका क्षेत्र एकाएक समृद्धि तर्फ उन्मुख भए पछि गाउँहरु दङ्ग परेका छन् ।
जिल्लाको पश्चिम निसी, बोबाङ, अधिकारीचौर, तमान लगायतका दर्जनौ गाउँका बासिन्दालाई जिल्ला सदरमुकामसम्म पुग्नका लागि कठिन यात्रा अनि हजारौ रुपैयाँ खर्च गर्नु बाध्यता थियो । उनिहरुलाई दुर्गम हुनुको पीडा त थियो नै यात्रा पनि कठिन गर्नुपर्ने थियो । अहिले गोरेटो बाटाहरु बिस्तारै लोकमार्ग बन्न थालेपछि भने उल्लेख्यीय रुपमा सेवा सुविधाको सहजता भएको छ । यसका साथै एकहोरो शहरबाट आयातमा सिमित गाउँहरु स्थानीय सम्भावनाको पहिचान सहित निर्भरतामुखी उत्पादनलाई व्यवसायमा जोड्न थालेका छन् । पश्चिम गाउँको समृद्धिको आधार बनेको छ मध्यपहाडी लोकमार्ग । यसले गाउँको हरेक सम्भावनालाई बाहिर ल्याउन मद्दत पु¥याएको छ ।
व्यवसायिक सोच स्थापित
गाउँमा निर्वाहमुखी खेतीपाती गर्ने किसानहरु व्यवसायिक खेतीतर्फ आकर्षित हुन थालेको पश्चिम निसीका भुमिराज घर्ति मगर बताउँछन । ‘पहिले पहिले परम्परागत रुपमा खेति गरिन्थ्यो, लोकमार्ग खुले पछि गाउँघरमा पनि व्यवसायिक सोच स्थापित हुन थालेको छ,’ मगरले भने, ‘अहिले स्थानियस्तरमा उत्पादन हुने आलु लगायतका तरकारी, फलफुलहरु उत्पादन गरेर बजारमा पठाउने क्रम तिव्र छ, यसले स्थानीयको दैनिकी र आय आर्जनमा परिवर्तन ल्याएको छ ।’
आसपासका बासिन्दा उत्साहित
मध्यपहाडी लोकमार्ग आयोजनाको कामले तिव्रता पाएसँगै बागलुङका गाउँमा सडक सँगै सुविधा र सम्भावना पनि पुगेको छ । त्यसैले लोकमार्ग सेरोफेरोका बासिन्दा अहिले निकै उत्साहित छन् । मध्यपहाडी लोकमार्गले बागलुङका पश्चिम गाउँहरुको व्यवसायिक सम्भावनालाई निकै फराकिलो बनाएको निसिखोला गाउँपालिकाका अध्यक्ष तारानाथ शर्माले बताए । ‘लोकमार्ग बिस्तार भए सँगै, गलकोट नगरपालिकाको हटिया, बडिगाड गाउँपालिकाको खरबाङ र ढोरपाटन नगरपालिकाको केन्द्र विन्दु बुर्तिबाङ बजारमा मानिसहरुको चलपहल बढेको छ ।
लोकमार्गले गाउँमा समृद्धि ल्यायो
यस क्षेत्रमा होटल व्यवसायसँगै कृषि उत्पादन, बजारिकरणका लागि ठुलो सम्भावना देखिएको छ, । लोकमार्गको विस्तारले यहाँको व्यापार र पर्यटन प्रर्वद्धनमा ठुलो टेवा पुग्न थालेको गलकोट नगरपालिकाका उपप्रमुख रेणुका काउचाले बताईन । बागलुङको कालिगण्डकीको तिर देखी ढोरपाटनको शिर सम्म लोकमार्ग विकासको आधार बनेको छ, उपप्रमुख काउचाले भनिन ‘लोकमार्गले गाउँमा समृद्धि ल्याएको छ ।
मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोरले जिल्लाको समृद्धिमा ठुलो सम्भावना भित्राएको बागलुङ उद्योग बाणिज्य सघंका उपाध्यक्ष नरेश कंडेले बताए ‘सदरमुकाम भएर पश्चिमी गाउँहरुलाई जोड्ने लोकमार्गले वृहत सम्भावनाहरुको उजागर गरेको छ, उनले भने, ‘अब लोगमार्गले दिएको यातायातको सुगमतालाई यात्रा सँग मात्र नजोडेर स्थानीय उत्पादनहरुको प्रर्वद्धनमा पनि यथेष्ट ध्यान दिन सक्ने हो भने पश्चिमी गाउँहरुको मुहार फेरिने निश्चित छ ।’
पोखरा बागलुङ सडक खण्डको विस्तारित रुप लिदै पुष्पलाल मध्यपहाडी लोकमार्ग बागलुङ सदरमुकाम–गलकोट–खरबाङ–बुर्तिबाङ–निसी हुँदै रुकुमको सिमाना पातिहाल्ने जोडिन्छ । बिस्तारित सडकले पर्वत जिल्लामा पनि समृद्धि ल्याउने र पर्यटन यात्रामा सहयोग पुग्ने पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताए । ‘पोखरा बागलुङ खण्डको बिच र कालिगण्डकी करिडोर सँग पनि यसको सम्बन्ध गाँसिने भएको कारण पर्वतको व्यापार व्यवासायमा लोकमार्गबाट ठुलो फाईदा लिन सकिनेछ अध्यक्ष शर्माले भने,। ‘बागलुङ हुँदै रुकुम लगायतका स्थानमा भ्रमण, पर्यटन प्रर्वद्धन गर्न यसले निश्चय पनि महत्वपूर्ण भुमिका खेल्नेछ ।’
बस्तीहरु ठूला शहरमा परिणत हुनेछन्
मध्य पहाडी लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई जोड्ने छ । त्यस्तै काठमाडौं भन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडीलाई मध्यपहाडी लोकमार्गले समेट्छ । यो मार्गको मध्यविन्दू नुवाकोटको पाती भन्ज्याङलाई बनाइएको छ । शुरुमा काठमाडौं जोड्ने भनिए पनि पछि काभ्रेको पाँचखालबाट सिन्धुपाल्चोक हुँदै नुवाकोटतिर लगिएको आयोजनाले बताएको छ । लोकमार्ग बनेपछि पहाडी जिल्लाका केही बस्तीहरु ठूला शहरमा परिणत हुनेछन् । जसको विकास शुरु भइसकेको छ ।
बाग्लुङमा खण्डमा सवै भन्दा बढि १ सय ३५ किलोमिटर
१७ सय ८६ किलोमिटर लम्बाई रहेको लोकमार्गको सबैभन्दा बढी बाग्लुङमा १ सय ३५ किलोमिटर बाटो पर्छ । लोकमार्गमा हाल ७० वटा ठेक्का पट्टाबाट काम भै रहेकोमा बागलुङ खण्डमा सात वटा ठेक्का पट्टाको काम भैरहेको छ ।
आर्थिक बर्ष २०६४÷६५ मा शुरु भएको लोकमार्गको बागलुङ खण्डमा भने आर्थिक ०६७÷६८ बाट काम शुरु भएको थियो । पाँचथर देखी बैतडी सम्म १७ सय ८६ किलोमिटरको दुरीको लोकमार्गको काम पूर्व खण्ड र पश्चिम खण्ड गरेर दुई भागमा छुट्याएर गरिएको छ । मध्यपहाडी लोकमार्ग आयोजना पश्चिम खण्डको दाङमा कार्यालय राखेर नुवाकोटदेखी बैतडी सम्म १ हजार ९७ किलामिटर पश्चिम खण्डको काम अघि बढाइएको आयोजनाका बरिष्ठ डिभिजन ईन्जिनिर रमेश दिष्टीले बताए ।
बागलुङमा ५८ किमी सडक कालोपत्रे
पश्चिम खण्ड अन्र्तगत पोखरा– बागलुङ लोकमार्ग र यस सँग जोडिएको ३ सय ६५ किमी पहिले नै कालोपत्र भइसकेको छ । बागलुङमा ५८ किमी, रुकुममा २ किमी, बैतडीमा १५ अछाममा ३ किलोमिटर सडक कालोपत्रे गरिएको छ । यस वर्ष आछाममा २० किलोमिटर लमजुङमा १० किलोमिटर कालोपत्र गर्ने योजना रहेको छ । त्यस्तै बागलुङ खण्डको बाँकी ७७ किलोमिटर मध्ये मालढुंगा देखी उपल्लाचौर सम्मको ५ किलो मिटर स्तरबृद्धिका लागि टेन्टर प्रक्रियामा रहेको बाँकी कालोपत्रका लागि काम अगाडि बढेको दिष्टीले बताए । १ सय ३५ किमी सडक बागलुङ खण्डमा पर्छ, उपल्लाचौर देखी रुकुमको सिमाना पाति हाल्ने सम्म १ सय ३० किमीमा ५८ किमी कालोपत्रे भएको र अन्य सबै कालोपत्रेका लागि ठेक्का भइसकेको छ, दिष्टीले भने ‘अहिले सटिङ, ग्राभिल, पुल निर्माणको काम तिव्र गतिमा छ, आर्थिक बर्ष २०७७÷७८ सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।’
बागलुङ खण्डमा १८ पुल मध्ये १६ पुल निर्माण सम्पन्न
बागलुङ खण्डमा १८ वटा पुल मध्ये १६ वटा पुल निर्माण सम्पन्न भै सकेको आयोजना दाङ कार्यालयका बरिष्ठ डिभिजन ईन्जिनियर शुभराज न्यौपानेले बताए । यस खण्ड अन्र्तगत काँठेखोला गाउँपालिकामा रहेको खहरेखोला ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा रहेको भुजिखोलामा पुल निर्माणका लागि ठेक्कापट्टा समेत गरि सकिएको न्यौपानेले जानकारी दिए । सडक चौडाई गर्ने, नाली बनाउने, कल्बर्ट बनाउने, पर्खाल लगाउने, ग्राभलिङ बनाउने कामलाई पनि अहिले तिव्रता दिईएको छ ।
डेढ सय भन्दा बढि घर गोठ फालिए
बागलुङ खण्डमा केही मुआब्जाका विषयलाई लिएर मुद्धा पनि परेका थिए । तर आयोजनाले मुआब्जा नदिने बताएको छ । केही घर गोठको मात्र क्षतीपुर्ति दिएको आयोजनाका बरिष्ठ ईन्जिनियर गोपिनाथ सिलवालले बताए । बागलुङ खण्डमा डेढ सय भन्दा बढि घर गोठ लोकमार्गको आसपासमा परेका थिए । सडक चौडा गर्दा ति सवै फाल्नुपर्ने अवस्था थियो । उनिहरुको उचित क्षतिपुर्तिको व्यवस्था गरी सडकलाई मापदण्ड अनुसार चक्लाएका छौं सिलवालले भने, । ‘यस वर्ष २८ वटा घर गोठको क्षतिपुर्ति व्यवस्था गरी सडकलाई मापदण्ड अनुसार बनाईएको छ ।’ लोकमार्गको विस्तारका लागि धादिङको बुढिगण्डकी जलसाय क्षेत्रको समस्या पनि समाधान भएर काम अगाडि बढेको र कास्कीको केही ठाँउमा स्तरबृद्धि गर्नुपर्ने कामको पनि डिपिआर तयार भै सकेको सिलवाले बताए ।
पूर्व पश्चिमसम्म जोड्ने तेस्रो लोकमार्ग
मुलुकको पूर्व पश्चिमसम्म जोड्ने महेन्द्र लोकमार्ग र हुलाकी लोकमार्ग पछिको यो तेस्रो लोकमार्ग हो । लोकमार्गले कावेली, तमोर, अरुण, सुनकोशी, तामाकोशी दुधकोशी, सेती, कालीगण्डकी, माथिल्लो कर्णाली, नरसिंहगाड, बुढी गंगा र पश्चिम सेती लगायत आयोजनालाई पनि जोड्ने छ ।
नेपालको पहाडी क्षेत्रहुदै पुर्ब पश्चिम जोड्ने मध्यपहाडी लोकमार्गले बागलुङको विचवाट बुर्तिबाङ निसी हुँदै रुकुम तर्फ जोडिने क्रममा बुर्तिबाङलाई सरकारले नयाँ शहरको रुपमा समेत विकास गर्दैछ । लोकमार्ग आसपासमा निर्माण गरिने दश नयाँ सहर मध्ये बुर्तिवाङलाई नयाँ सहरको रुपमा समेत विकास गर्ने क्रम तिव्र रहेको आयोजनाले बताएको छ ।
देशको सम्वृद्धिको एउटा प्रमुख मेरुदण्ड
लोकमार्ग देशको सम्वृद्धिको एउटा प्रमुख मेरुदण्ड बन्नेछ । पूर्वमा नेपाल (भारत सीमानाको पाँचथर चियो भन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल (भारत) सीमानास्थित बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ । एउटा पहाडी जिल्लाबाट अर्को पहाडी जिल्ला जान पूर्व–पश्चिम महेन्द्र लोकमार्ग झरेर पुनः पहाड चढ्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।