
बागलुङ नगर कार्यपालिकाको कार्यालयले बागलुङ बलेवा देखि काठमाण्डौँ हवाई सेवा सञ्चालन गरेबापत ३ महिनाको अवधीमा साडे ५ लाख रुपैँया भन्दा बढि व्ययभार बेहोरेको छ । गत चैत्र महिना देखि सञ्चालनमा आएको विमानस्थलबाट तारा एयरलाईन्स र नेपाल एयरलाईन्सले सेवा दिए बापत यात्रु संख्याको अपुग रकम ५ लाख ६५ हजार ५ सय रुपैँया विमान कम्पनीलाई प्रदान गरेको हो ।
बागलुङ नगरपालिका–१४ मा रहेको विमानस्थल सञ्चालनमा ल्याउन पटक–पटक पहल गरिए पनि प्राधिकरणले यात्रुको सुनिश्चितताको लिखित प्रतिवद्धता मागे पछि त्यसले सार्थकता पाउन सकेको थिएन । २०४८ सालदेखी बन्द भएको बिमानस्थल सञ्चालनका लागि नगरपालिकाले यात्रुको संख्या सुनिश्चित गरेपछि मात्रै २०७४ चैत्र ९ गते देखि सञ्चालनमा आएको हो । हवाई सेवा प्रदान गरेबापत गत चैत्रमा तारा एयरलाई १ लाख ३० हजार र नेपाल एयरलाईन्सलाई ७८ हजार रुपैँया बुझाएको थियो । तारा एयरमा काठमाण्डौँ देखि बलेवा यात्रामा अपुग भएका १३ जना र बलेवा–काठमाण्डौँ यात्रामा अपुग ७ जनाको गरी २० जनाको व्ययभार बेहोरेको हो । यस्तै नेपाल एयरले काठमाण्डौँ देखि बलेवा यात्रामा अपुग भएका २ जना र बलेवा–काठमाण्डौँ यात्रामा अपुग १० जना गरी १२ जनाको रकम बुझाएको बागलुङ नगरपालिकाका सामाजिक शाखा प्रमुख भिमसेन पन्तले जानकारी दिनुभयो । यस्तै गत बैशाखमा तारा एयरले काठमाण्डौँ–बलेवामा अपुग २१ जना र बलेवा–काठमाण्डौँमा अपुग ५ जना गरी २६ जनाको जम्मा १ लाख ६९ हजार रुपैँया विमानकम्पनीलाई बुझाएको बताइएको छ ।
बैशाखमा नै नेपाल एयरले काठमाण्डौँ देखि आउँदा १४ जना र बलेवाबाट जाँदा ४ जनाको ९७ हजार ५ सय रुपैँया व्ययभार बेहोरेको नगरपालिकाले जनाएको छ । यही जेठ महिनामा तारा एयरलाई नगरपालिकाले अपुग भएका १४ जना यात्रुको खर्च ९१ हजार रुपैँया बुझाएको छ । बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले नेपाल एयरलाईन्सले हवाई शुल्क घटाएकाले केही राहत मिलेको भन्दै अब घाटामा जाने दर न्युन हुदैँ जाने बताएका छन । उनले आगामी दिनमा नगरपालिकाले यात्रु अपुग संख्याको भाडा नबेहोर्ने गरी नियमित उडान गर्न पहल गरिरहेको जानकारी दिए । बिमानस्थल सम्म पुग्नका लागि सडक कालोपत्रे गर्नका लागि पनि प्रयास गरिरहेको नगरपालिकाले जनाएको छ । २०१८ सालमा निर्माण भएको विमानस्थल पोखरा–बागलुङ राजमार्ग खुलेपछि २६ बर्षदेखी बन्द रहेको थियो । बलेवादेखी काठमाण्डौं सम्म ४५ मिनेटमा पुगिने हवाई शुल्क धेरै भएपछि यात्रुहरुले भाडा समायोजन गर्न माग गरेका थिए ।
त्यस पश्चात नेपाल एयरलाइन्सले बागलुङ–काठमाडौ हवाई भाडा ६५०० रुपैँया लिदै आएकोमा ५८०० रुपैँया र बागलुङ–काठमाडौको यात्रामा ५६०० रुपैँया कायम गरेको छ । यसरी नगरपालिकाले ३ महिनाको अवधीमा नै साडे ५ लाख रुपैँया भन्दा बढी मुल्य बुझाउदा बिमान बन्द हुने शंका बढेको कतिपय बताउछन् ।