३२ असार २०८२, बुधबार

 

धवलागिरिका ८० ठाउँमा ‘थ्रिजी’ सेवा

धवलागिरी क्षेत्रमा इन्टर चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तार भएको छ । हाल ८० ठाउँबाट ‘थ्रिजी’ सेवा सञ्चालन भइरहेको नेपाल टेलिकमले जनाएको छ । गत वर्ष जम्मा २१ ठाउँमा मात्र ‘थ्रिजी’ सेवा थियो । सबै भन्दा बढी बागलुङका ४० ठाउँबाट सेवा दिइएको टेलिकमको बागलुङ कार्यालयले जनाएको छ ।
यस्तै, म्याग्दीमा १६, पर्वतमा १४ र मुस्ताङमा १० स्थानमा सेवा पुगेको छ । सेवा विस्तारले चारै जिल्लाका अधिकांश क्षेत्रमा ‘थ्रिजी’ को पहुँच पुगेको छ । हाल रहेको ‘टुजी’ सेवालाई पनि स्तरोन्नति गरि सेवा दिइएको कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताउनुभयो । चारै जिल्लामा गरि १ सय १४ स्थानबाट ‘टुजी’ सेवा सञ्चालनमा छ । ‘डाटाको खपत हेरेर थ्रिजी सेवा थप्ने गरेका छौं’ इन्जिनियर शर्माले भन्नुभयो ।
टेलिकमले ग्राहकको माग र डाटाको खपत पनि बढी हुने ठाउँमा ‘थ्रिजी’ सेवा विस्तार गर्ने गरेको छ । ‘थ्रिजी’ सेवाले डाटा र भ्वाइस दुवैमा सुधार आएपछि ग्राहक पनि सन्तुष्ट छन् । ‘थ्रिजी’ नभएको ठाउँमा पनि ‘टुजी’ सुधार गर्दा सेवा प्रभावकारी बनेको इन्जिनियर शर्माको भनाइ छ । इन्टरनेट प्रयोगकर्ताहरुले विगतको भन्दा बढी क्षमतायुक्त र तीव्र गतिको ‘थ्रिजी’ सेवा पाएको कार्यालयका इन्जिनियर अमृत नेपालले बताउनुभयो ।
‘थ्रिजी’ प्रविधिमार्फ्त ‘भियोडी’, ‘भिडियो÷भ्वाइस च्याट’, तीव्र गतिको इन्टरनेट ‘सर्फिङ’ लगाएतका सेवाहरु ग्राहकले पाइरहेका छन् । टेलिकमले दुई वर्ष अघिदेखि नयाँ प्रविधियुक्त ‘थ्रिजी’ सञ्चालनमा ल्याएको थियो । पुरानो प्रविधिको ‘थ्रिजी’ लाई पनि स्तरोन्नति गर्दै लगिएको टेलिकमले जनाएको छ । माग अनुसार अन्य ठाउँमा पनि ‘थ्रिजी–बिटिएस’ जडानको काम अघि बढेको इन्जिनियर नेपालले बताउनुभयो ।
तत्काल बागलुङको खुङ्गा, धुल्लुबास्कोट, म्याग्दीको बरङ्जा, ज्यामरुककोट, पर्वतको आम्बोट लगाएतका ठाउँमा ‘थ्रिजी’ सेवा शुरु हुनेछ । ७ दशमलव २ ‘एमबिपिएस’ सम्मको गतिमा सेवा प्रवाह भइरहेको टेलिकमले जनाएको छ । ‘थ्रिजी’ सेवा शुरुमा शहरी क्षेत्रलाई लक्षित गरिएपनि अहिले दुर्गममा समेत विस्तार भएको छ । उपल्लो मुस्ताङ, बागलुङको ढोरपाटन, म्याग्दीको मुना लगाएतका दुर्गम ठाउँमा समेत ‘थ्रिजी’ सेवा पुगेको छ ।
चारै जिल्लाका सदरमुकाम, मुख्य बजार क्षेत्र र अधिकांश जनसंख्याले बसोबास गर्ने ठाउँमा ‘थ्रिजी’ सेवा पुगेको जनाइएको छ । देशका ठूला शहरमा ‘फोरजी’ सेवा सञ्चालनमा आएपनि धवलागिरिमा भने ‘फोरजी’ सेवा शुरु हुन सकेको छैन । ‘फोरजी’ सञ्चालनको लागि तयारी अघि बढेको र यसै वर्ष धवलागिरिका मुख्य शहरी क्षेत्रमा सेवा विस्तार हुने नेपाल टेलिकमको बागलुङ कार्यालयले जनाएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung