
बेनी–जोमसोम सडक खण्ड शनिबार देखी रातिको समयमा बन्द हुने भएको छ । मुस्ताङ जोड्ने सडकको रुपमा रहेको बेनी–जोमसोम सडक खण्डको ७६ किलोमिटर सडक निर्माणाधिन अवस्थामा रहेको छ । उक्त सडकमा हुने खतरालाई देखेर जिल्ला सुरक्षा समितिले रातीको समयमा सवारी सञ्चालन गर्न बन्द गर्ने निर्णय गरेको हो ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले साउन ५ गते शनिबार देखि लागु हुने गरी बेनी–घाँसा खण्डमा रातको समयमा सवारी सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो ।बर्षाका कारण निमार्णधिन सडकका माथिबाट पहिरो खस्ने तथा भासिने सम्भावना हुने हुँदा दुर्घटना हुन सक्ने जोखिमको अवस्थालाई मध्यनजर गरेर रातीको बेला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो ।
गलेश्वर देखि जोमसोम तर्फ जाने सवारी साधनहरु बेलुकी ५ः३० देखि बिहान ५ बजेसम्म र घाँसाबाट बेनीतर्फ आउने सवारी साधनहरु साँझ ६ देखि बिहान ५ बजेसम्मका लागि बन्द गर्ने निर्णय भएको अधिकारीले जानकारी दिए । सडक साउन ३१ गते सम्मका लागी रातको समयमा सडक बन्द गर्ने निर्णय गरिएको छ ।