२९ बैशाख २०८१, शनिबार

 

एक्स–रे मेसिनले चिकित्स विज्ञानमा यसरी ल्यायो परिवर्तन

हिड्दा हिड्दै बाटोमा खुट्टा अलिकति बटानिर पुगेको थियो । आफुलाई चाहि सामान्य नै लागेको थियो तर पछि धेरै दुख्न थालेकोले अस्पताल गई एक्स–रे लिई हेर्दा त कुर्कुच्चानिर हाड चर्केको रहेछ । धेरै छाती दुख्यो भनेकोले छोरोलाई अस्पताल लगी एक्स–रे गर्न लगाउँदा त उसलाई क्षयरोग लागिसकेको थाहा भयो । केही समय ढिलो गरेको भए बर्बाद नै हुन्थ्यो ।

आजभोलि यस्ता भनाइहरु सुनेर अलमलमा पर्ने मानिसहरु सायद नै भेटिएलान् । कसैको शरीरमा हाड भाच्चिएको छ छैन हेर्न र भाचिएको ठाँउ कहाँनिर हो, त्यो पत्ता लगाउन अस्पतालहरुमा वा प्राइभेट क्लिनिकहरुमा चिकित्सकहरुले एक्स–रे लिने काम गर्छन् । एक्स–रे अब अनौठो र अन्जानको विषय रहेको छैन । आज भोलि चिकित्सा क्षेत्रमा मात्र होइन , एयरपोर्टमा यात्रुहरुले स्वदेश वा विदेशबाट ल्याएका ब्यागहरुभित्र कुनै अवैध हातहतियार , सुन , चाँदी आदि छ कि भनेर ब्यागहरु नखोलिकन नै पत्ता लगाउन पनि एक्स–रेको फोटो लिने गरिन्छ ।

त्यस्तै पदार्थको अति सुक्ष्म कणमा परमाणुको वास्तविक संरचना पत्ता लगाउने कामदेखि लिएर पृथ्वीबाट धेरै टाढा रहेका ताराहरु , तारापुञ्जहरु र ब्ल्याक होलहरुबारे तथ्यपरक समझदारी बनाउन पनि एक्स–रेलाई प्रयोग गर्ने काम वैज्ञानिकहरुले गरेका छन् । वैज्ञानिकहरुले जीवकोषभित्र न्युक्लेसमा रहेको क्रोमोजोम रशाभित्र रहेका वंशाणुहरुको ठीक ढंगले अध्ययन अनुसन्धान गर्न पनि एक्स–रेलाई प्रयोग गर्न थालेको छन् । यति धेरै क्षेत्रमा महत्वपुर्ण कामहरुमा साह्रै नै उपयोगी औजारको रुपमा प्रयोग भइरहेको एक्स–रेको आविष्कार गर्ने वैज्ञानिक को हुन् त ?
हो उनी हुन् , विख्यात जर्मन वैज्ञानिक विल्हेम कोनराड रोन्तजेन ।

अध्ययन – अध्यापन

वैज्ञानिक रोन्तजेनको जन्म सन् १८४५ को मार्च २७ तारिखका दिन प्रिसियाको लेन्नेप शहरमा भएको थियो । उनी एक किसान परिवारमा जन्मेका थिए । रोन्तजेनका पिता एक जर्मन किसान थिए भने आमा डच नागरिक थिइन् ।

वैज्ञानिक रोन्तजेनले विद्यालय स्तरको शिक्षा हल्याण्डमा पुरा गरेका थिए । उनी पछि उच्च शिक्षा हासिल गर्न स्वीट्जरल्याण्डको ज्यूरिच विश्वविद्यालयमा भर्ना भए । वैज्ञानिक रोन्तजेनलाई मनपर्ने विषय क्षेत्रहरु विद्युत् , प्रकाश , ताप तथा इलास्टिसिटी थिए । भोतिकशास्त्रमा डाक्टरेट गरेपछि वैज्ञानिक रोन्तजेन जर्मनीको उर्जबर्ग विश्वविद्यालयमा प्रोफेसर भई काम गर्न थाले ।

तर, उनी त्यहाँ धेरै समयसम्म बसेनन् । उनले पछि उर्जबर्ग छोडी जर्मनीकै स्ट्रसबर्ग विश्वविद्यालयमा अध्यापन गर्न थाले । त्यसपछि पनि वैज्ञानिक रोन्तजेन होएनहाइम, ग्नाइस्सेनजस्ता विभिन्न विश्वविद्यालयहरुमा एकपछि अर्काे अध्यापन गर्न गए । तर आखिर सन् १८८५ मा आएर उनले पुन उर्जवर्ग विश्वविद्यालयमा नै फर्केर आई अध्यापन गरे ।

क्याथोड रे पत्ता लाग्दाखेरि
त्यस समयसम्ममा युरोपमा विभिन्न वैज्ञानिकहरुले विद्युत्लाई विभिन्न माध्यममार्फत् प्रवाह गराउने परीक्षणहरु गरिसकेका थिए । धारा विद्युत्का जनक अंग्रेज वैज्ञानिक माइकल फाराडेले तरल, ठोस , ग्यास गरी कुनै पनि माध्यमबाट विद्युत् प्रवाह गराउने प्रयत्न गरेका थिए । उनले विद्युत्लाई शुन्य ठाउँमा पनि प्रवाह गर्ने कोशिस गरेका थिए । तर , त्यतिखेर , शुन्य ठाँउ बनाउने उपकरण भ्याकुम पम्प त्यति राम्रो बनाउन सकिएको थिएन । त्यसैले उनको परीक्षण त्यति अगाडि बढ्न सकेन ।

अर्का अंग्रेज वैज्ञानिक सर विलियम क्रुक्स वैज्ञानिक माइकल फाराडेको परीक्षणलाई अगाडि बढाउन चाहन्थे । उनले आफ्ना एक सिद्धहस्त सहायकको सहयोगमा भित्र शुन्य भएको एक सिसाको ट्युब बनाए र त्यसका दुई छेउहरुभित्र विद्युत् लाइनसँग जोडिने दुई फरक इलक्ट्रोडहरु घुसाएर जडान गरिदिए जब उनले ती इलेक्ट्रोडहरुमा उच्च भोल्टेजको विद्युत् प्रवाह गरे, तब ऋणात्मक इलेक्ट्रोडबाट एक किरण पैदा भएको देखियो । त्यस्तै त्यस किरणले ट्युबभित्रको सानो पांग्रालाई घुमाएको पनि देखियो ।

अर्काे कुरो, टेयुबभित्र पैदा भएको किरणलाई विद्युत् भएको एक पाता वा चुम्बकमा जब ठक्कर ख्वाइन्छ , तब त्यसले आफ्नो बाटो परिवर्तन गरेको तथ्य पनि वैज्ञानिक क्रुक्सले पत्ता लगाए । त्यो किरण जब सिसाको भित्तामा ठोक्किन पुग्यो , तब त्यसले एक प्रकारको हरियो तज फ्याँक्यो । यो हरियो तेँजको चमकलाई वैज्ञानिक भाषामा फ्लोरेस्सेन्स भनिन्छ । क्रुक्सको यो किरणलाई क्याथोड रे भनिन्छ । यो वास्तवमा शुन्य ठाँउमा इलेक्ट्रोनहरुको प्रवाह हो ।

घरको भित्तासमेत छेड्ने किरणको आविष्कार
वैज्ञानिक रोन्तजेनले उर्जबर्ग विश्वविद्यालयमा अध्यापन कार्य गर्दागर्दै नै त्यहाँकै प्रयोगशालामा क्रुक्सको ट्युबमा विभिन्न परीक्षणहरु गर्न थाले । परीक्षणकै क्रममा सन् १८९५ को ८ नोभेम्बरका दिन उनले क्रुक्सको टेयुबलाई प्रकाश नछिर्ने वस्तुले बेर्दैै झ्यालहरु बन्द गरेर कोठा अँध्यारो पारे । तर , त्यसो गर्दा पनि ट्युबभित्र इलेक्ट्रोडहरुबाट विद्युत प्रवाह गर्दा त्यसभित्रका बेरियम प्लाटिनमको तहले ढाकिएको कागजको टुक्रा नै चम्कन थाल्यो । त्यो चम्केको किरण क्रुक्सको क्याथोड रे थिएन , किनकी , त्यो किरण शिशाबाट छिरेर जान सक्दैनथ्यो । अर्काे कुरो त्यो अद्भुत किरणको बाटोलाई क्याथोड रेलाई जस्तै कुनै विद्युत् क्षेत्र अथवा चम्बकले बदल्न सकेन ।

त्यस्तै, त्यो किरणले अर्काे कोठामा राखिएको फोटो फिल्मलाई पनि नराम्ररी नै असर ग¥यो । यसबाट के बुझियो भने , क्याथोड रेको बाटोलाई जब बेरियम प्लाटिनम बस्तुले छेक्छ, तब त्यहाँ एक प्रकारको अज्ञात किरण उत्पन्न हुन्छ , जुन सिसा , घरको भित्ता आदिलाई समेत छिरेर जान सक्छ । रोन्तजेनले आफुले आविष्कार गर्न खोजिएको किरणले घरको भित्रासम्म पनि छिरेर गई अर्काे कोठामा राखिएको फोटो फिल्मलाई असर गर्छ कि गर्दैन भनेर हेर्न त्यो फोटो फिल्मलाई अर्काे कोठामा राखेका थिएनन् । त्यो घटना अचानक नै घट्न पुग्यो । वैज्ञानिक रोन्तजेनले त्यो अचानक आविष्कार हुन आएको अज्ञात किरणलाई अज्ञात किरणकै अर्थमा एक्स–रे भनी नामाकरण गरे ।

परीक्षणकै क्रममा वैज्ञानिक रोन्तजेनलाई के थाहा लाग्यो भने एक्स–रे प्राणीहरुको मांशपेशीबाट वारपार गर्न सक्छ । उनले कालो कागजले मोडेको एक फोटोग्राफिक प्लेटमाथि आफ्नो हात राखेर एक्स–रे मेसिन चलाए । नतिजा के भयो भने , फोटोग्राफिक प्लेटमा हातभित्रका हड्डीहरुको स्पष्ट चित्र बन्यो । यसबाट एक्स–रे हाम्रो शरीरभित्रका हाडहरुको स्थिति बुझ्न एक अचुक औजार हुने कुरा सिद्ध भयो ।
एक्स–रेको आविष्कार गरेवापत वैज्ञानिक रोन्तजेनलाई सन् १८९६ मा रोयल सोसाइटीको रुम फोर्ड मेडल पुरस्कारबाट सम्मानित गरियो । त्यस्तै उनलाई सन् १९०० मा म्युनिख विश्वविद्यालयमा भौतिकशास्त्रका प्रोफेसर पदमा नियुक्त गरियो । सन् १९०१ मा वैज्ञानिक रोन्तजेनलाई नोबल पुरस्कारद्धारा सम्मानित गरियो ।

अज्ञात किरणको रुपमा आविष्कार भएकोले गर्दा त्यही अर्थ लाग्ने नाम दिइएको एक्स–रे किरण सधै अज्ञात किरण नै भने रहिरहेन । एक्स–रे पनि प्रकाश गामा विकिरणजस्तै एक विद्युत चुम्बकीय किरण नै भएको तथ्य रोनतजेनभन्दा पछिल्ला वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन् ।
वैज्ञानिक विल्हेम कोनराड रोन्तजेनको मृत्यु ७८ वर्षको उमेरमा सन् १९२३ मा भयो । उनको मृत्युपछि पनि उनको नयाँ आविष्कार एक्स–रेले विश्वका अधिकाशं मानिसहरुलाई मृत्युको मुखमा पुग्नबाट बचाउने काममा योगदान दिइरहेकोछ ।

प्रतिक्रिया दिनुहोस्