तपाईं बैङ्कमा खाता खोल्न जाँदै हुनुहुन्छ ? अबदेखि तपाईं नेपाली नै भए पनि अमेरिकी नागरिक हो कि होइन भनेर बैङ्कको खाता खोल्ने फर्ममा नै खुलस्त पार्नुपर्ने भएको छ । अमेरिकी सरकारले कार्यान्वयनमा ल्याएको फरेन एकाउन्ट ट्याक्स कम्प्लायन्स एक्ट (एफएटीसीए)अनुसार नेपालका बैङ्कहरुले पनि बाध्य भएर नेपालीले खाता खोल्दा पनि अमेरिकी नागरिक हो कि होइन भनेर खुलाउनु पर्ने भएको हो ।
नियमित अन्य जानकारीका अतिरिक्त अबदेखि बैङ्क खाता खोल्दा अमेरिका निवासी हो वा होइन, अमेरिकी नागरिक हो वा होइन र अमेरिकी ग्रिन कार्ड लिएको छ कि छैन भन्ने बारेमा विवरण दिनुपर्ने भएको छ ।
नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले विश्वका हरेक बैङ्कले अमेरिकी डलरमा कारोबार गर्ने भएकाले अमेरिकाले दिएको व्यवस्था कार्यान्वयन गरिएको बताए । ‘यो व्यवस्थाले आत्तिनुपर्ने कुनै कुरा छैन’ उनले भने, ‘म अमेरिकी नागरिक होइन वा अमेरिकामा बसोबास गर्दिनँ भन्ने विकल्प छनोट गरे पुग्छ ।’ विश्वका जुनसुकै मुलुकमा गएर बसे पनि अमेरिकीहरुले अमेरिकामा कर तिर्नुपर्ने भएकाले पछिल्लो पटक अमेरिकाले आफ्ना नागरिकको हरेक विवरण विश्वभरबाट अद्यावधिक गर्ने गर्छ ।

नेपालीहरुले अमेरिकी नागरिक हो कि होइन भनेर फर्ममा खुलाउनुपर्ने भएपछि नेपाली नागरिकहरु आतङ्कित देखिएका छन् । बैङ्कमा खाता खोल्न जानेहरु कतिपयले यस्तो व्यवस्था किन कार्यान्वयनमा ल्याइएको भनेर समेत प्रश्न उठाएका छन् । सामान्य ग्राहकको भने बैङ्ककै कर्मचारीले फर्म भरिदिने भएकाले आफैं अमेरिकी नागरिक होइन भनेर भरिदिने गरेको पाइएको छ ।
सेन्चुरी बैङ्कका प्रमुख कार्यकारी अधिकृत तुलसी गौतमले पनि नयाँ व्यवस्थाबाट आत्तिनु पर्ने स्थिति नरहेको बताए । ‘अमेरिकी नागरिक होइन भनिदिए त भइहाल्यो नि ?’ उनले भने, ‘खासगरी अमेरिकी नागरिक जहाँ बसे पनि कर तिर्नुपर्ने भएकाले जुनसुकै स्थानका बैङ्कहरुले जतिखेरै पनि अमेरिकी एफएटीसीए कानुन अनुसार अमेरिकी नागरिकको विवरण दिने व्यवस्था कार्यान्वयनमा ल्याएको देखिन्छ ।’
आफ्नो मुलुकको कानुन कार्यान्वयन गर्ने क्रममा बैङ्कले त्यहाँको कार्यालयले मागेबमोजिमको कर तथा अन्य जरिवानावापतको रकम सम्बन्धित बैङ्क खातावालाई नसोधीकन भुक्तानी गर्न स्वीकृति दिएको आशयको पत्रमा बैङ्कले सहमत गराएको देखिन्छ । बैङ्करहरुले अमेरिकी नागरिकका लागि मात्रै प्रयोग हुने भने पनि कतै यो प्रावधानले बैङ्कको खाता दुरुपयोग हुने त होइन भन्ने आशङ्का जन्मिएको छ ।क्यापिटल नेपाल






























































































































































































