२९ बैशाख २०८१, शनिबार

 

तेश्रो विश्वयुद्धको सन्त्रासमा पहिलो विश्वयुद्धको सम्झना

सय वर्ष अघि, संसार नै दुई ध्रुबमा बाँडिएको समय । विश्व शक्ति केन्द्र भत्किएर नयाँ ध्रुवको निर्माणको समय ।

यस्तो समयावधि जसमा युद्धरत रसियन साम्राज्यमा अक्टोबर क्रान्ति सम्पन्न भयो र सुरु भयो रुसमा समाजवादी सत्ताको अभ्यास ।

साथै जर्मन, अटोमन, रसियाली र अस्ट्रिया-हंगेरीको साम्राज्य ढलेसँगै युरोपेली साम्राज्यवादको पतनको सुरुवात ।

र विश्वको इतिहास, राजनैतिक नक्शा र स्वरूप नै परिवर्तन भएको कालखण्ड । यो कालखण्ड थियो प्रथम विश्वयुद्धको । मानव इतिहासकै त्यो वीभत्स अनुभव जो विश्वले आजभन्दा ठीक एक सय वर्ष पहिले अनुभव गरेको थियो र ठीक सय वर्षअघि आजकै दिन चार वर्ष लामो त्यस भीषण युद्धको अन्त्य भएको थियो ।

यस समय संसारभरिका नेताहरु फ्रान्समा भेला भएका छन् । सन् १९१४ देखि १९१८सम्म चलेको विश्वयुद्धमा मृतकहरुपति सम्मान दिन उनीहरु भेला भएका हुन ।

अमेरिकादेखि बेलायत र स्पेनदेखि जर्मनीसम्म । सबै त्यो दिन सम्झिरहेका छन् ।

आज हुने समारोहको नेतृत्व फान्सका राष्ट्रपति इम्यानुअल मार्कोनले गर्नेछन् ।

समारोहमा आठ जना छात्रले युद्ध लडेका सिपाहीहरुको आत्मकथा वाचन गर्ने छन् । त्यहाँ शास्त्रीय संगीत बज्ने कार्यक्रम छ । र नेताहरुले भाषण गर्ने छन् ।

आज पश्चिमी किल्लामा ८० देशका सैनिकहरुले आफ्ना हतियार विसाउने छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प पनि यो समारोहमा उपस्थिति हुने छन् । पहिलो विश्वयुद्धमा अमेरिकाका मात्रै एक लाख सत्र हजार सैनिक मारिएका थिए ।

बेलायतकी महारानीले पनि लण्डनमा नै युद्धमा मारिएका सिपाहीहरुको चिहान पुगेर यो दिवसको सम्झना गर्ने बताइएको छ ।

पहिलो विश्वयुद्धमा डेढ देखि दुई करोड सैनिक र सर्वसाधारणको मृत्यु भएको थियो । यो युद्धमा मारिनेमा सबैभन्दा बढी करिब ३३ लाख व्यक्ति रुसी नागरिक थिए ।

एकातिर उनीहरुले औपचारिकतावश विश्वयुद्धको सम्झनामा कार्यक्रम गरिरहेका छन अर्कोतर्फ भने उनीहरुका गतिविधिले तेश्रो विश्वयुद्धको झझल्को दिइरहेको छ ।

अमेरिकी विदेश नीति जसरी आक्रामक हुँदैछ, जसरी फेरी कट्टरपन्थीहरु सत्तामा पुगिरहेका छन्  र व्यापार जसरी लडाईको केन्द्रमा पुगेको छ, फेरी नयाँ ढंगले विश्वयुद्ध नहोला भन्न सकिन्न ।

विश्वयुद्ध वर्चश्वको युद्ध थियो ।  साम्राज्यको वर्चश्व, अर्थतन्त्रको वर्चश्व ।

र, अहिले यो व्यापारमाथिको वर्चश्वमा रुपान्तरण भएको छ । यो वर्चश्वको लडाईंले विश्वका कतिपय शक्तिहरु विभाजित भएका छन र ससाना शक्तिहरु विश्वभरी उदयमान भएका छन् ।

तेश्रो विश्वयुद्ध भई नै हाल्यो भने के होला त्यसको कल्पनासम्म गर्न सकिन्न ।

एउटा भयानक त्रासदी । मानव सभ्यता नष्ट हुने परिघटना ।

के त्यसो होला ?

सोझै ठोकुवा गर्न नसकिएपनि अहिले विश्वका शक्ति राष्ट्रहरुको व्यवहार हेर्दा त्यहाँ नपुगिएला भन्न सकिन्न । जुन समय पहिलो विश्युद्धको पृष्ठभूमि तयार हुँदै थियो विशेष गरी युरोपमा उग्र राष्ट्रवाद चरममा थियो र शक्तिशाली देशहरू आफूलाई झनै शक्तिशाली बनाउने होडमा थिए ।

अटो भान बिस्मार्कले एकीकरण गरेपछि निरन्तर शक्तिशाली हुँदै गएको जर्मनीले युरोपमा फ्रान्सलाई एक्ल्याउने कुटनैतिक कोसिस त गर्दै थियो नै यसका साथै उसले आफूलाई युरोपको सबैभन्दा ठुलो सैन्य शक्ति बनाउने कोशिस पनि गर्दै थियो । उता जर्मनीको शक्ति संचय्ले ब्रिटेन, फ्रान्स, रसिया र अस्ट्रिया सशंकित थिए ।

बढ्दो आपसी कटुता र अविश्वासको पृष्ठभूमीमा अस्ट्रियाली राजगद्दीका उत्तराधिकारी आरक ड्युक फ्रान्सिस फर्डिनांडको हत्याले अआगोमा घ्यूको काम गऱ्यो । फर्डिनांडको हत्या बोस्नियाको राजधानीमा भएको थियो ।

अस्ट्रियाले यसमा सर्बियालाई दोष लगाउँदै उससमक्ष दस सूत्रीय माग राख्दै ४८ घण्टे अल्टिमेटम दियो र सर्बियाले यो अस्वीकार गरेपछि २८ जुलाई १९१४ मा सर्बियामाथि आक्रमण गऱ्यो । अस्ट्रियाको पक्ष जर्मनीले लियो र सर्बियाको पक्षमा ३१ जुलाई १९१४ मा रुस र फ्रान्स उत्रिए । ब्रिटेन पनि ५ अगस्त १९१४ मा यो युद्धमा होमिएपछि यो युद्ध विश्वभरि फैलियो ।

यसो हेर्दा उक्त समय युद्धको प्रमुख कारण साम्राज्यवादी दम्भ, असीमित शक्ति संचय र पारस्परिक अविश्वास थियो र यदि तुलना गरेर हेर्ने हो भने अहिले विश्व कुनै न कुनै अवस्थामा त्यही विन्दुमा पुगेको जसो लाग्दैछ । तर आज शक्ति युरोपमा सिमित छैन यो समग्र युरेसिया र अफ्रिका लगायत अमेरिकी र महासागरीय क्षेत्रहरूमा फैलिएको छ । यस्तो अवस्थामा यदि तेस्रो विश्वयुद्ध हुने हो भने यो संसारभरि फैलिने छ र वर्तमान समयमा उपलब्ध हतियार र प्रविधिको आकलन गर्ने हो भने यो पहिले भन्दा कयौं गुणा बढी विध्वंशक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्