२५ असार २०८२, बुधबार

 

प्रशासनकै भवन अलपत्र पारेर ठेकेदार वेपत्ता, प्रजिअ भन्छन् कालो सूचीमा राख्छौं

- जिल्ला अदालत र अंचल अस्पतालको दशा पनि उस्तै

बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङको भवन अलपत्र पारेर ठेकेदार वेपत्ता भएका छन् । २०७० साल फागुनमा दुई वर्षभित्र काम सक्ने गरी जिम्मा लिएको जयबाबा गोरखा संयुक्त निर्माण कम्पनीले प्रशासनकै भवन अलपत्र पारेर वेपत्ता भएको हो । ठेकेदार श्याम श्रेष्ठले गत असारमा काम सक्ने आश्वासन दिएका थिए । तर अहिले वेपत्ता भएका छन् ।

‘२०७२ फागुन ११ गते म्याद सकिएर म्याद थप गरेपछि वेपत्ता भएका ठेकेदार अहिलेसम्म सम्पर्कमा आएका छैनन् । तीन करोड ८० लाख रुपैयाँको लागतमा निर्माण गरिने यो भवनका लागि हालसम्म झण्डै दुई करोड रुपैयाँ भुक्तानी भैसकेको छ ।

ठेकेदार हराएपछि कालो सूचीमा राख्ने सूचना समेत जारी गरिएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बताए । ‘पहिला सम्पर्कमा आएर केही काम गरेको थियो, अहिले सम्पर्कमा छैन’ खरेलले भने, ‘कारवाही किन नगर्ने भन्ने प्रकृतिको सूचना प्रकाशित पनि गरेका छौं ।’ दुई साता भित्रमा सम्पर्कमा नआए कालो सूचीमा राख्ने तयारीमा छौं उनले भने ।

अदालत र अस्पतालको उस्तै दशा
जिल्ला अदालतको भवन पनि बर्षौदेखि अलपत्र छ । तत्कालिन प्रधानन्यायाधिस कल्याण श्रेष्ठले शिलान्यास गरेको भवनको तोकिएको म्याद सकिएको पनि डेढ बर्ष भैसकेको छ ।

२०७२ फागुनमा शिलान्यास भई डेढ बर्षमा निर्माण सकिनुपर्ने भवन अझै नसकिएको हो । भवन निर्माणका लागि ५ रोपनी जमिन खरिद गरेर ११ करोड ९ लाख रुपैयाँको लागतमा निर्माणको काम थालिएको थियो । टेन्डर प्रकृयाबाट १० करोड ४१ लाख ६१ हजार रुपैयाँमा ठेक्का लिएको समानान्तर बिएन संयुक्त निर्माण सेवा पनि अहिले काम रोकेर वेपत्ता भएको छ ।

ठेकेदार नारायण जिसीले पटकपटक म्याद थपका लागि माग गरिरहेका थिए । ‘आउने चैतमा काम सक्छु, म्याद थपिदिनुप¥यो भनेका छन्’ जिल्ला न्यायाधिस प्रकाश प्रसाद पंडितले भने, ‘काम सकिने ग्यारेन्टी भएमात्र थप्ने भनेका छौं ।’ चैत मसान्तमा काम सकेर हस्तान्तरण गर्ने जिसीले बताएका छन् ।

साँढे ३ तलाको भवनमा २ वटा स्थायी इजलाससहित बाल इजलास, अपांगमैत्री वातावरण, ¥याम समेत निर्माण गरिने छ । साथै महिला पुरुषका बेग्लाबेग्दै शौचालय, छलफल र मिलापत्र कक्षहरु समेत बनाइने लक्ष राखिएको छ । जिल्लामा अस्पताल, स्वास्थ्य चौकी र वडा कार्यालयका भवनपनि ठेकेदारहरुले अलपत्र राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung