२७ असार २०८२, शुक्रबार

 

ट्राफिकको दशबुधे कार्ययोजना अलपत्र

- नगरले वेवास्ता गर्यो : ट्राफिक, काम गर्छौ : नगर प्रमुख

जिल्ला भित्रको ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरीले पेश गरेको दशबुधे योजना अलपत्र परेको छ । बजार भित्र हुने अधिकांस घटनामा ट्राफिक व्यवस्थापन नहुनु, तीब्र गती र जथाभावी पार्किङले भएकोले व्यवस्थापनका लागि योजना बनाएपनि नगरपालिकाले वेवास्ता गरेको हो ।

योजना कार्यान्वयन गर्न सके दुर्घटना घटाउन सकिने जिल्ला ट्राफिक प्रमुख सुकबहादुर बिकले बताए । उनले त्यसका लागि बजेट अभाव भएको बताए । उनले सदरमुकाम स्थित बागलुङ बजार भित्रका सबै चोकमा ट्राफिक चिन्ह राख्ने पहिलो योजना बनाएका थिए ।
‘चिन्ह नभएकै कारण सवारी साधनले जथाभावी सवारी चलाउ“छन्, यात्रीले पनि जथाभावी बाटो काट्छन्’ बिकले भने, ‘बजार व्यवस्थापनका लागि कार्ययोजना सहित नगरपालिकामा पेश गरेको अहिले सम्म सहयोग पाइएको छैन ।’

कार्यपालिका बैठक तथा नगरपरिषदबाट बजेट बिनियोजन गर्ने आश्वासन पाएपनि पुरा नभएको उनले बताए । व्यवस्थापनका लागि कार्यालयमा पनि बजेट शुन्यता रहेको उनले गुनासो गरे ।बजार भित्र सडक समेत ओगट्ने गरी व्यपारिक सामाग्री राख्ने, अधिकांस, ट्रक र ट्रयाक्टर सडकमै पार्किङ गर्ने, कार्यालय समयमा गति सिमित नहुने जस्ता कारणले घटना बढेकोले व्यवस्थापनका लागि काम थाल्न ट्राफिकले नगरपालिकामा नियम बनाउन माग समेत गरेको हो ।

त्यस्तै जेब्रा क्रस, फुटपाथ छुट्टयाउने, ठेला गाडा व्यवस्थापन तथा घुम्ती र चोकमा ऐना राख्ने कामका लागि बजेट समेत नपाएको उनले बताए । पटक पटक घटना भैरहेपनि सडक बनाउन कोही तयार नभएको जिल्ला प्रहरी प्रमुख दिपक रेग्मीले बताए । ‘नगर भित्रको भनेपछि सडक डिभिजनले वास्ता नगर्ने, नगरपालिकाले राजनीतिक दवाव र पहुचको भरमा काम गर्ने चलन भयो’ रेग्मीले भने, ‘बजार भित्र दैनिक दुर्घटना हु“दा कसैले व्यवस्थापकीय काममा सहयोग गरेनन् ।’ जनशक्ति मार्फत काम गराउन प्रहरी तयार भएपनि अत्यावस्यक सामाग्रीका लागि नगरपालिकाले चासो राख्नुपर्ने उनले बताए ।

ट्राफिक प्रहरी कार्यालयले तयार गरेको प्रतिवेदनमा सदरमुकामको दर्जनबढी चोकमा जेब्रा क्रस राख्नुपर्नेछ । तोकिएको स्थानमा मात्र बिद्यालयका बस रोक्ने व्यवस्था गर्ने, केही सडक लाई प्रवेश निषेध र एकतर्फी बनाउने, बिद्यालय, अस्पताल र क्याम्पसमा हर्न निषेध गर्ने लगायतका काम तत्काल गर्नुपर्नेछ ।

प्रतिबेदन उपर नगरपालिकामा छलफल नभएको उनले टिप्पणी गरे । नगर प्रमुख जनकराज पौडेलले कार्ययोजनाको स्टीमेट बनाउन भनेकोले ढीलाई भएको बताए । ‘लागत स्टिमेट आएपछि कार्यपालिकामा लगेर निर्णय गराउने योजना छ’ पौडेलले भने, ‘कति लागत लाग्छ, हामीले कति लगानी गर्न सक्छौं, त्यसपछि केही सुधार हुनेछ ।’ कार्यालय समयमा मुख्य बजार प्रवेश गर्ने ट्रक, ट्रयाक्टर र निजी सवारीले समेत यात्री बोकेर बजार डुल्ने समस्याले दुर्घटना बढाएकोले रोक्नेगरी नियम बनाउन पहल गरिने उनले बताए ।

नगरपालिकाले फुटपाथमा राखिएका सामाग्री हटाएर सडक सफाइ गर्ने अभियानमा व्यवसायीबाटै अवरोध भएको पौडेलले टिप्पणी समेत गरे । ‘उद्योग बाणिज्य संघकै अगुवाईमा मुख्य बजारमा सामाग्री व्यवस्थापन गर्न आवस्यक छ’ पौडेलले भने, ‘दुर्घटना न्युनिकरणका लागि हरेक सटरवालाले सहयोग गर्नुपर्छ ।’ सडकै ओगटेर सामान राख्ने प्रवृत्ति त्याग्न उनले आग्रह समेत गरे ।

अधिकांस सडक साघुरो भएकोले घर बनाउदा सेटव्याक राख्ने, सडक देखि डेढ मीटर पछि सारेर मात्र नक्सापास गर्न पाईने लगायतका नियम बनाइएको उनले बताए ।दुर्घटना न्युनिकरणका लागि ट्राफिक, प्रहरी र धौलागरी अञ्चल अस्पतालले सवारी चालकको रक्तचाप र आखाको तेज परीक्षण गर्ने काम थालेको छ ।

उक्त कार्यक्रमले राजश्व संकलन बढेको र दुर्घटना न्युनिकरणमा पहल भएको बिकले बताए । चालु बर्षको माघ ११ गते सम्म ट्राफिकले ३ हजार ५ सय ६० सवारीलाई कारवाही गरेर २७ लाख ४ हजार राजश्व समेत संकलन गरेको हो । नगरपालिकाको सहयोग पाएमा राजश्व संकलन बढ्ने र दुर्घटना न्युनिकरणमा समेत सहयोग पुग्ने उनले बताए । जिल्लामा अहिले १४ जना मात्र ट्राफिक छन् । बजारीकरण भएका नगर र गाउपालिकाका लागि कम्तिमा २० दरबन्दी आवस्यक परेको बिकले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung