२७ असार २०८२, शुक्रबार

 

मोदीको शपथमा सहभागी हुँदै ओली

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि निर्वाचित भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । नयाँदिल्लीमा बिहीबार साँझ हुने शपथ ग्रहण समारोहमा सहभागी हुन ओली बिहीबार दिउँसो त्यसतर्फ प्रस्थान गर्दै छन् ।

भारतीय विदेश मन्त्रालयले बिमस्टेकसहित १० देशका राष्ट्र तथा सरकार प्रमुखलाई शपथग्रहण समारोहमा सहभागी हुन निम्तो दिएको छ । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसहित १० देशका राजदूतलाई मन्त्रालयमा बोलाई त्यस्तो जानकारी दिइएको हो ।

मोदीले बिहीबारसाँझ ७ बजे प्रधानमन्त्रीको शपथ लिँदै छन् । यसअघि पहिलोपटक प्रधानमन्त्री पदको शपथ लिँदा उनले सार्कका राष्ट्र तथा सरकार प्रमुखलाई बोलाएका थिए ।
शपथ ग्रहण समारोहपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपतिले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्रीको टोलीमा कोको रहने भन्ने तय भए पनि सार्वजनिक गरिएको छैन । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा परराष्ट्रविज्ञका रूपमा कार्यभार सम्हालेका गोपाल खनालले दिल्ली भ्रमणमा कोको जाने भन्नेबारे जानकारी नगराइएको बताए । उनले भने, ‘मलाई त्यसबारे जानकारी गराइएको छैन ।’ खनाल अहिले सरकारी मुखपत्र गोरखापत्रका सल्लाहकार सम्पादक छन् ।

शपथग्रहणको भोलिपल्ट शुक्रबार ओली र मोदीबीच द्विपक्षीय वार्ता हुने परराष्ट्र स्रोतले जनायो । ओली शुक्रबारै स्वदेश फर्कनेछन् । यसअघि मोदी पहिलोपटक प्रम हुँदा नेपालमा सुशील कोइराला उनका समकक्षी थिए । उनले मोदीको शपथमा सहभागी भएर आफ्नो पहिलो विदेश भ्रमण सुरुआत गरेका थिए । त्यति बेला भारतले सार्कका सरकारप्रमुख तथा राष्ट्रप्रमुखलाई निम्त्याएर ‘मिनी सार्क’को झल्को दिएको कोइरालाका तत्कालीन स्वकीय सचिव अतुल कोइरालाले स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung