
पर्वतका ७ स्थानीय तहमध्ये २ नगरपालिका र ४ गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक गरेका छन् । सबै स्थानीय तहको प्राथमिकतामा पूर्वाधार विकासका योजना परेका छन् । अधिकांशमा विगत वर्षकै योजना छन् भने कुनै–कुनै नयाँ कार्यक्रम पनि थपिएका छन् ।
कुस्मा नगरपालिका
कुस्मा नगरपालिकाले ७९ करोड ८ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरउपप्रमुख सीता काफ्ले लामिछानेले सार्वजनिक गरेको बजेटमा पूर्वाधार विकासलाई जोड दिइएको छ । पूर्वाधार विकासमा ११ करोड ९ लाख रुपैयाँ, सामाजिक विकासमा १ करोड ८० लाख, आर्थिक विकासमा १ करोड ४० लाख, सुशासन तथा संस्थागत विकासलाई १ करोड ४५ लाख रुपैयाँ छुट्ट्याइएको छ ।
वन, वातावरण तथा विपद् व्यवस्थापनमा ५ लाख, समपूरक कोषमा १ करोड ४५ लाख, भइपरी आउने पुँजीगत खर्चमा १ करोड, सामाजिक सुरक्षामा १६ करोड रुपैयाँ विनियोजन भएको छ । नगरपालिकामा नेपाल सरकारको ससर्त अनुदानको ३३ करोड २८ लाख र गण्डकी प्रदेश सरकारको ससर्त अनुदानको १ करोड बजेट खर्च गरिने भएको छ ।
आयतर्फ नगरपालिकाले नेपाल सरकारको वित्तीय समानीकरण अनुदानमा १३ करोड ४३ लाख, आन्तरिक आय १३ करोड ३० लाख, राजस्व बाडफाँडबाट ६ करोड ७४ लाख, विविध आयतर्फ ६ करोड ७४ लाख हुने अनुमान गरिएको छ । त्यस्तै गण्डकी प्रदेश सरकारको समानीकरण अनुदानतर्फ १२ करोड ५३ लाख, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ८ करोड, ससर्त अनुदान १ करोड, नेपाल सरकारको ससर्त अनुदान ३३ करोड २८ लाख रुपैयाँ आयतर्फ समावेश गरिएको छ । त्यस्तै सामाजिक सुरक्षातर्फ १६ करोड रुपैयाँ पनि आयतर्फ उल्लेख गरिएको छ ।
फलेवास नगरपालिका
फलेवास नगरले ६६ करोड ५६ लाख ९५ हजारको बजेट पारित गरेको छ । आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ समेत नगरसभाबाट पारित भएको छ । नगरसभाको पहिलो बैठकमा नगरप्रमुख पदमपाणि शर्माले ०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने दोस्रो बैठकमा नगर–उपप्रमुख मञ्जु अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेकी थिइन् । प्रस्तुत बजेटमा चालू एवं साधारण खर्चतर्फ ४३ करोड ७९ लाख ६४ हजार विनियोजन गरिएको छ भने पूँजीगत एवं विकासतर्फ २२ करोड ७६ लाख ७२ हजार छुट्ट्याइएको छ । चालूभन्दा आगामी आर्थिक वर्षलाई २० करोड रुपैयाँ बढीको बजेट तथा योजना सार्वजनिक गरिएको छ ।
पैयुँ गाउँपालिका
पैयुँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि बजेट तथा योजना सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न गाउँपालिकाले ३३ करोड ६५ लाख ४० हजार रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले नेपाल सरकार वित्तीय समानीकरणतर्फ ७ करोड ४९ लाख, प्रदेश सरकार वित्तीय समानीकरणबाट १ करोड २१ लाख ३२ हजार, नेपाल सरकार ससर्त अनुदान १८ करोड ७७ लाख, प्रदेश सरकार ससर्त अनुदानवाट १ करोड, नेपाल सरकार राजस्व बाँडफाँडबाट ४ करोड ९८ लाख, गण्डकी प्रदेश राजस्व बाँडफाँडबाट १४ लाख ६१ हजार, अनुमानित आन्तरिक आय ६१ लाख ७० हजार, गत वर्ष मौज्दातबाट २० लाख रकम विनियोजन भएको गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताए ।
मोदी गाउँपालिका
मोदी गाउँपालिकाले ४३ करोड ७३ लाख २४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । पाँचौं गाउँसभामा उपाध्यक्ष सेती महतले प्रस्तुत गरेको बजेटमा अगामी वर्ष गाउँपालिकाभित्रका १६ वटा बस्तीलाई नमुना बनाउने प्रस्ताव छ । चालूतर्फ ४ करोड ९५ लाख ८१ हजार रुपैयाँ प्रस्ताव गरेको गाउँपालिकाले १४ करोड ८७ लाख ४३ हजार रकम पुँजीगत विकासमा खर्चने तयारी गरेको छ । पूर्वाधार विकासतर्फ ६ करोड, आर्थिक विकासमा ३ करोड ५० लाख, सामाजिक विकासमा २ करोड ५० लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनमा ५० लाख, संस्थागत विकास सेवा प्रवाह र सुशासनमा ५० लाख रकम प्रस्ताव गरिएको छ । यसै गरी गाउँपालिकाले आगामी वर्षका लागि कुल १ करोड रकम समपूरक कोषमा राखेको छ । आकस्मिक कोष परिचालनका लागि ८७ लाख ४३ हजार रकम जगेडा गरिएको उपाध्यक्ष महतद्वारा प्रस्तुत बजेटमा उल्लेख छ । आगामी वर्षका लागि संघीय सरकारबाट ससर्त प्राप्त हुने रकम २३ करोड तथा प्रदेश सरकारबाट ससर्त प्राप्त हुने रकम ९० लाख प्रस्ताव गरिएको छ ।
बिहादी गाउँपालिका
बिहादी गाउँपालिकाले २९ करोड ५८ लाख ३० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । बजेटमा चालूतर्फ १७ करोड ४३ लाख र पुँजीगततर्फ ११ करोड १५ लाख ३० हजार रुपैयाँ छुट्ट्याइएको छ । गाउँ कार्यपालिकाको सभाहलमा उपाध्यक्ष डम्बरकुमारी गुरुङले बजेट पेस गरेकी थिइन् । गाउँपालिका अध्यक्ष कमलप्रसाद भुसालले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
महाशिला गाउँपालिका
पर्वतको महाशिला गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७६÷०७७ का लागि बजेट तथा योजना सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका गर्न गाउँपालिकाले ३४ करोड ७४ लाख ५१ हजार २ रुपैयाँ बजेट विनियोजन गरेको छ । यसअन्तर्गत प्रशासनिक चालू खर्च २ करोड ८० लाख १० हजार, ससर्ततर्फ संघीय सरकारको तोकिएको कार्यक्रम र अनुसूची ६ मा बाँडफाँड भएबमोजिम १२ करोड ८० लाख, सामाजिक सुरक्षातर्फ ३ करोड रुपैयाँ छ । त्यसै गरी पुँजीगत खर्चतर्फ कार्यालय व्यवस्थापनमा ९ लाख ५० हजार, पुँजीगत खर्च क्षेत्रगत रूपमा आर्थिक विकास क्षेत्रमा रू. ३ करोड, ७४ लाख ४० हजार र सामाजिक विकास क्षेत्रमा १ करोड ४५ लाख ४५ हजार रुपैयाँ विनियोजन भएको छ ।
जलजला गाउँपालिकाले भने मंगलबार नीति–कार्यक्रम तथा बजेट सार्वजनिक गर्न सकेन । गाउँपालिकाले बुधबार मात्र सार्वजनिक गर्ने जनाएको छ ।