३ श्रावण २०८३, आईतवार

 

नेपाल बैंकले माग्यो सिइओ, तलब मासिक ३ लाख

नेपाल बैंक लिमिटेडले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न विज्ञापन खुलाएको छ । बैंकले बुधबार योग्यता पुगेका नेपाली नागरिकलाई २१ दिनभित्र आवेदन दिन आह्वान गरेको हो ।

यसअघिका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहको करार अवधि सकिएलगत्तै बैंकले नयाँ कार्यकारी अधिकृतका लागि विज्ञापन निकालेको हो । शाह २०७१ चैत ११ गते नियुक्त भएका थिए । शाहको पदावधि सकिएपछि कृष्णबहादुर अधिकारी कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।

कार्यकारी अधिकृतलाई ३ लाख मासिक तलबसहित कार्यसम्पादनका आधारमा अन्य सुविधा हुने सूचनामा उल्लेख छ।

प्रमुख कार्यकारी अधिकृतको न्यूनतम शौक्षिक योग्यता व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उत्तीर्ण तोकिएको छ । यससँगै बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ–संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्यानुभव भएकाले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

आवेदकले कुनै पनि राजनीतिक दलको सदस्य नभएको स्वघोषणा गर्नुपर्ने र बैंकसँगको ठेक्कापट्टा तथा निजी स्वार्थ जोडिने कुनै पनि कार्यमा संलग्न नभएको हुनुपर्ने बैंकले जनाएको छ । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएकाले पनि प्रमुख कार्यकारीमा आवेदन दिन पाउनेछैनन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung