८ जेष्ठ २०८१, मंगलवार

 

पहिरो जोखिमले विद्यालय बन्द

जैमिनी नगरपालिका–१० राङखानी किटेनीको जनता प्राथमिक विद्यालय पहिरोको चपेटामा परेको छ । स्थानीय सरकारको स्थापनापछि विस्तारित मोटरबाटोका कारण विभिन्न ठाउँमा यस्तो जोखिम बढेको छ । गत वर्ष जैमिनी नगरपालिका र बरेङ गाउँपालिका जोड्ने मोटरबाटो किटेनीदेखि विस्तार गरिएको थियो ।

त्यसक्रममा जनता प्राथमिक विद्यालयको माथिल्लो क्षेत्र र अनेक घुम्तीहरू कटान गरिएको थियो । यस वर्षको अविरल वर्षाका कारण विद्यालयको माथिल्लो क्षेत्रदेखि पहिरो खस्ने र तल्लो क्षेत्रबाट पनि पहिरोले तान्ने क्रम बढेपछि पठनपाठनमा समस्या भएको छ ।

गत वर्ष विद्यालयको ३ वटामध्ये एउटा भवन पहिरोले पुरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा पुनर्निर्माण गरिएको थियो । पहिरो खस्ने क्रम यथावत् रहेपछि विद्यालय सञ्चालनमा समस्या आएको प्रधानाध्यापक कृष्णा श्रीसको भनाइ छ ।

‘गत वर्ष पहिरोले विद्यालय पुरेपछि विभिन्न संघसंस्थामा हारगुहार गरी निर्माण गरिएको भवन पनि फेरि पहिरोले पुरिने अवस्था आएपछि अर्को विकल्प के सोच्ने ? विद्यार्थीको पठनपाठनलाई कसरी र कहाँ सञ्चालन गर्ने भन्ने चुनौती छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश छन्त्यालले बताए । यसअघि दुईकोठे ट्रस्ट किटेनी गाउँको सुरक्षित सार्वजनिक ठाउँमा बनेकाले त्यहाँ केही समय कामसम्म चलाउन सकिने उनको भनाइ छ ।

मोटरबाटो विस्तारसँगै जोडिएको विकासले अहिले न मोटर बाटो रह्यो न त विद्यालय रहने अवस्था छ । बजेट खेर जान लागेको छ । विकास योजनामा समिति र प्राविधिक बीचको सहकार्य फितलो देखिएको छ । अहिले विद्यालयमा आउने गोरेटो बाटोले समेत स–साना विद्यार्थीलाई समस्या परेको छ । बाल कक्षादेखी कक्षा ५ सम्म सञ्चालित विद्यालयमा शिक्षक–शिक्षिका गरी ५ जना र ४२ जना विद्यार्थी छन् ।

पहिरोकै कारण मंगलबारदेखि ५ दिनसम्म विद्यालय बिदा गरिएको छ । त्यसपछि पनि पठनपाठन कसरी निरन्तर गर्ने भन्ने चुनौती छ । ‘यो अप्ठ्यारो समस्या समाधानका लागि सरोकारवालाको चाँडोभन्दा चाँडो ध्यान पुगे हुन्थ्यो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्