८ जेष्ठ २०८१, मंगलवार

 

विद्यामन्दिर माविको महिला छात्रावासमा पुरुष लेखापाल कुरुवा

बागलुङ– पढाइको लागि जिल्ला छाडेर बस्नु पर्ने छात्राको लागि बनेको फिडर छात्रावास (महिलाहरुको लागिमात्र) मा पुरुष कर्मचारी बस्ने गरेको तथ्य फेला परेको छ ।

विद्यामन्दिर माविको फिडर छात्रावासमा केही वर्षदेखि लेखापाल धर्मराज शर्मा बस्ने गरेका हुन्। छात्रावासमा छात्राबाहेक महिला वार्डेन मात्र बस्न पाउने नीतिगत व्यवस्था छ । विद्यालयको फिडर छात्रावासको वार्डेन गंगाकुमारी शर्मा हुन् । उनी भने दैनिक आफ्नै घरमा बस्छिन्। छात्रावासमा बस्ने लेखापाल शर्माको घर भने बागलुङ नगरपालिका भित्रै हो । बानपा-१३, पैयुँपाटा घर भएका शर्मा छात्राहरु मात्र बस्ने उक्त छात्रावासमा बस्न मिल्दैन।

विद्यामन्दिर माविका लेखापाल शर्माले कक्षा ११ र १२ को लेखा हेर्ने गरी मासिक २३ हजार तलब खान्छन् । बिहान ७ बजेदेखि दिउँसो २ बजे सम्मको जिम्मेवारी पाएका शर्मा श्रीमतीसहित छात्रावासमा बस्दै आएका हुन् । छात्रावास भित्रै उनको भान्छा कोठा र सुविधा सम्पन्न बस्ने कोठा छ ।

वार्डेन नबस्दा छात्रावासमा बसेका छात्राहरुले भने सास्ती खेपेका छन् । नुहाउने, कपडा फेर्ने र आफ्नो समस्या पर्दा बताउन नसकेर उनीहरुले सास्ती खेपेका हुन् । ‘बिरामी भएर सुतेकी थिएँ, महिला वार्डेन नभएकोले केही भन्न सकिन’ एक छात्राले भनिन्, ‘औषधि उपचार गर्ने र अभिभावकको साथ पाउनुपर्नेमा डर र लाज सहेर बस्नु परेको छ ।’

२०५५ सालमा पुस्तकालय रेखदेख गर्ने कर्मचारीको रुपमा तत्कालिन प्रअ ऋद्दिराज अधिकारीले लेखापाल धर्मराज शर्मालाई भर्ना गरेका थिए । २०५६ सालदेखिनै उनी छात्रावासमा बस्दै आएको खुलेको हो ।

२०६१ सालदेखि भने ग्रामीण क्षेत्रमा विद्यालयको पहुँच पुगिसकेकोले कक्षा ११ र १२ का विद्यार्थीलाई मात्र छात्रावासमा राख्ने व्यवस्था भयो । शर्मालाई पनि सोही समयदेखि शिक्षा र विज्ञान संकायको लेखा हेर्ने जिम्मा दिइएको हो ।

प्रअ शान्तमणी ढकालले यो प्रवृत्ति बेठिक भएको बताए । ‘म प्रअ भएर आउनुभन्दा दशक अघिदेखि लेखापाल शर्मा बस्दै थिए’ ढकालले भने, ‘मैले पटकपटक भनिसकेको छु, वार्डेन आउनुपर्छ, लेखापाल जानुपर्छ ।’ शर्माले भने लामो समयदेखि बसेर ढकालको पालामा निस्कनु परेमा नराम्रो हुने भन्दै चेतावनीको भाषा प्रयोग गरिरहेको उनले गुनासो गरे ।  केही वर्ष अघि छात्रावासमा अप्रिय घटना भएको प्रअ शान्तमणी ढकालले समेत उनले बताए । घटनाबारे उनले सबै कुरा खोलेनन् ।

छात्रावास सुरक्षा र व्यवस्थापनका लागि नेपाल सरकारले शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुखको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयका अधिकृत र जिल्ला समन्वय समितिको प्रतिनिधिलाई सदस्यमा राखेको छ । विद्यालयको प्रअ पदेन सदस्य र छात्रावासको वार्डेन सदस्य-सचिव रहने व्यवस्था छ । २०३६ सालमा तत्कालिन प्रअ अकल बहादुर श्रेष्ठको पालामा खुलेको यो छात्रावासमा धौलागिरीका ४ र मनाङसहित ५ जिल्लाका छात्राहरु निरन्तर बस्दै आएका छन् । देशभरका २१ वटा सामुदायिक विद्यालयमा परेको छात्रावास यहाँ पनि परेको थियो ।

प्राथमिक तहमा महिला शिक्षक उत्पादन गर्ने र मावि नभएको गाउँका छात्रालाई आवाससहित बसालेर दिगो शिक्षा दिने लक्स्यका साथ छात्रावास स्थापना भएको थियो ।

विद्यालयमा देखिएको बेथितीकै क्रममा छात्रावासमा पनि मनोमानी गरिएको भेटिएको हो । वार्डेन भएवापत गंगाकुमारी शर्माले मासिक २ हजार रुपैयाँ भत्ता पाउँछिन् । नेपाल सरकारबाटै भान्छेलाई मासिक २ हजार ४ सय, पालेलाई २ हजार २ सय र छात्रालाई प्रतिव्यक्ति ४ हजारका दरले वार्षिक ४० हजार रुपैयाँ विनियोजन हुन्छ ।

वार्डेन शर्माले भूकम्पले भवन भत्केकोले बस्न समस्या भएपछि बाहिर गएको बताईन् । ‘२ बर्ष जति बाहिर बस्नु परेको हो’ शर्माले भनिन्, ‘म आउनु अघिदेखिनै लेखापाल धर्मराज शर्मा बसिरहनु भएको थियो ।’

बागलुङ नगरपालिकाका शिक्षा अधिकारी डण्डपाणि शर्माले भने, ‘विघामन्दिर माविकाे महिला फिडर छात्रावासमा छात्रावासकाे जिम्मेवारी लिएको महिला वार्डेन र पालेबाहेक काेही पनि बस्न मिल्दैन। मैले विघालयकाे प्रधानाध्यापकलाई माथिकाे बेथिति हटाउन भनी सकेकाे छु । महिला फिडर छात्रावासकाे उद्देश्य र नियम विपरित काेही पनि जान मिल्दैन ।’

विद्यामन्दिर माविको महिला फिडर छात्रावासको नियमन गर्ने छात्रावास समितिका अध्यक्षको समेत जिम्मेवारी रहेको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख कुश्मराज उपाध्यायले नयाँ विश्वलाई भने,’र्मैले महिला वार्डेन गंगाकुमारी शर्मालाई बोलाएर महिला छात्रावासमा बस्न भनेको छु । छात्रावासमा बस्ने छात्राहरुको सुरक्षा सम्वेदनसिलता सबैले बुझनु पर्छ । नियम विपरित पुरुष लेखापाल बसेको भए विद्यालयका प्रअ शान्तामणि ढकाल र महिला वार्डेन शर्माले तुरुन्तै लेखापाल धर्मराज शर्मालाई हटाउँनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्