३ जेष्ठ २०८१, बिहीबार

 

बागलुङ महोत्सव गर्न उत्साही छौंं

युवराज राजभण्डारी

अध्यक्ष, बागलुङ उद्योग वाणिज्य संघ,बागलुङ

उद्योग वाणिज्य संघको जिल्ला तहको नेतृत्व गरिरहँदा कस्तो लागेको छ ?

जिम्मेवारीबोध भइरहेको छ ।  एक वर्षदेखि जिम्मेवारीमा छु ।
चुनाव लडेरै आएको हुँ ।

के–के छन् त योजना ?

संस्थाको हकहितका लागि काम गर्ने नै हो । जिल्ला तथा स्थानीय स्तरमा व्यापार, व्यवसाय प्रवर्धनसँगै सामाजिक उत्तरदायित्व बहनका काम पनि योजनामा छन् । जस्तै– गाउँ र नगरस्तरमा सझेदारीका काम, पर्यटन महोत्सव आयोजना ।

निर्वाचनमा प्रतिस्पर्धी हुँदाका प्रतिबद्धता के थिए ?

व्यापार–व्यवसायका क्षेत्रमा हकहितको संरक्षण, सामाजिक उत्तरदायित्व बहन । तीमध्ये केही पूरा भएका पनि छन् । केही हुने क्रममा छन् । केही बाँकी अवधिमा गर्ने योजना छ ।

ती के–के हुन् ?
बागलुङ महोत्सव । जुन आगामी पुस ११ देखि २० गतेसम्म आयोजना गरिँदै छ । अहिले त्यही महोत्सवको तयारी र प्रायोजन समूहसँगको सम्झौताका लागि राजधानी काठमाडौं आएका हौं । आइएमई समूहले मुख्य प्रायोजन गर्ने भएको छ ।

अंग्रेजी नयाँ वर्ष र भिजिट नेपाल २०२० पनि परेकाले अझै उत्साही छौं । सरकारले पनि हाम्रो महोत्सवलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । पर्यटनमन्त्रीले उपस्थिति जनाउने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

कति व्यापार गर्ने लक्ष्य छ महोत्सवमा ?

करिब १२ करोडको लक्ष्य राखेका छौं । किनकि अंग्रेजी नयाँ वर्ष र भिजिट नेपाल २०२० परेकाले पर्यटक आकर्षित गर्न महोत्सव सफल हुने हाम्रो विश्वास छ ।

महोत्सव हुँदैमा पर्यटक आउँछन् भन्ने ग्यारेन्टी हुन्छ र ?

आऊन् भन्ने चाहना हो । बागलुङका कतिपय स्थानमा गरिएका पर्यटक लक्ष्यित निर्माणकार्यले पनि आकर्षण थप्ने आशा लिएका छौं । जस्तै– बागलुङ कालिका मन्दिरको दर्शन, पञ्चकोटमा बनेको १ सय ५१ फिटको कलश अवलोकन, साथै १ लाख २१ हजार शालिग्रामको मनोरम दृश्य र परिक्रमास्थल ।

पञ्चकोटकै वैंकटेश्वरको मन्दिर पनि बनेको छ । ती सबै अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउँछन् भन्ने विश्वास लिएका छौं ।

त्यसअतिरिक्त मुक्तिनाथ पनि यहाँबाट पायक पर्ने भएकाले बागलुङ पुग्ने पर्यटक त्यता पनि जान सक्छन् । बागलुङ आउँदा एकैपटकमा पर्यटकले पोखरा पनि घुम्न सक्ने भएकाले पोखरा पुग्ने पर्यटक बागलुङसम्म आउन सकून् भन्ने हो ।ठुलो लगानीमा फिल्म हल,पार्टि प्यालेस ,आधुनिक कफि सप, खान र बस्न होटल, लज र रेस्टुराँ पनि खुल्ने क्रम जारी छ ।

व्यवसायीहरुले गुणस्तर र ग्राहकको सन्तुष्टिमा ध्यान दिन थालेका छन ।स्मार्ट मोबाइल चलाउँने युवाहरुलाई आकर्षित गर्न सूचना प्रविधिको अत्यधिक प्रयोग गर्न थालेका छन व्यापारीहरुले ।

तपाईं आफू कुन व्यवसायमा संलग्न हुनुहुन्छ ?
म आफैं सुन व्यवसायी हुँ । पछि निर्माण–व्यवसायमा पनि संलग्न भएँ । मेरो पारिवारिक पृष्ठभूमि व्यापार–व्यवसायसँग जोडिएको छ । त्यसैले उवा संघको नेतृत्वसम्म आएको हुँ ।

अहिले संघको केन्द्रमा नयाँ नेतृत्वको चर्चा चलेको छ नि ?

हो, हामी यसपटकका लागि शेखर गोल्छालाई पूर्वसहमति र विधानअनुसार हुनुपर्छ भन्ने पक्षमा छौं । त्यसको अन्तिम छिनोफानो कात्तिक २९ गते संघको साधारणसभाले गर्नेछ । त्यसका लागि विधान परिवर्तन गर्ने कि नगर्ने भन्ने बहस सुरु भएको छ । विधान परिवर्तन गरेर दुई वर्षे कार्यकाल कायम गर्नेसम्मको बहस छ ।

अन्त्यमा केही ?

फेरि पनि मेरो आग्रह छ, नयाँ अंग्रेजी वर्षको सुरुवातसँगै बागलुङ महोत्सव  हुँदै छ । सबैले आ–आफ्नो स्थानबाट सहयोग पु¥याऔं ।

महोत्सवको सफलताका लागि स्वदेश तथा विदेशमा हुनेहरू त्यस बेला बागलुङ आएर उपस्थिति जनाऔं । बागलुङको स्थानीय उत्पादनको बजारीकरण ,व्यवसाय, पर्यटन ,कला ,संस्कृति संरक्षण र संवर्धनका लागि योगदान गरौं । यस वर्षको महोत्सवलाई विशेष महत्त्वको बनाऔं भन्ने आग्रह गर्न चाहन्छु ।

बागलुडको आर्थिक बजारलाई चलाएमान बनाउन ,नयाँ लगानी ल्याउँन ,उघमी र युवा व्यवसायीको मनोबल उठाउँन ,बागलुडको सबै स्थानीय तहको व्यवसायीक संभावनालाई उजागर गर्न र लगानीमैत्री वातावरण बनाउँन हामीले अब गर्न लागेको बागलुड महोत्सवलाई अवसरको रुपमा लिएका छौ ।धौलागिरीको समग्र विकासमा सबैले ठ्लो मन बनाएर हातेमालो गरौ भन्ने अपिल पनि गर्न चाहान्छु ।

प्रतिक्रिया दिनुहोस्