३१ बैशाख २०८२, बुधबार

 

कपिलवस्तुमा प्रहरी गोलीले एकको मृत्यु, कर्फ्यु जारी

दुई पक्षबीच झडपपछि कर्फ्यु लगाइएको कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागेर बिहीबार एक जनाको ज्यान गएको छ । भारतीय नागरिक सुरजकुमार पाण्डेयको मृत्यु भएको हो ।

पाण्डेयले कर्फ्यु अवज्ञा गरेकाले गोली चलाउनुपरेको प्रहरीले जनाएको छ । पाण्डेय सीमापारि बढनीका बासिन्दा रहेको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए । स्थिति अझ बिथोलिन नदिन प्रशासन सचेत रहेको उनले बताए । उनका अनुसार कृष्णनगर क्षेत्रमा ५ सयभन्दा धेरै प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । ‘कर्फ्यु तोडेर हिंसा मच्चाउने तत्त्व सक्रिय रहेकोले सीमानाका बन्द गरी प्रहरी परिचालनमा ध्यान दिएका छौं,’ उनले भने ।

बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा स्थानीय दुई समुदायबीचको विवाद झडपमा बदलिएको थियो । स्थिति उग्र हुँदै गएपछि नियन्त्रणमा लिन प्रहरीले कर्फ्यु लगाएको थियो । हिन्दू समुदायले मूर्ति विसर्जन गर्ने क्रममा आपसी मनोमालिन्यका कारण घटना हिंसामा परिणत हुन पुगेको एक स्थानीयले बताए ।

झडपमा उत्रिएका दुई समुदायबीच समझदारी कायम गर्न स्थानीय अगुवालाई आग्रहसमेत गरिएको छ । प्रजिअ श्रेष्ठका अनुसार दुवै समुदायका अगुवाहरूसँगै सम्पर्कमै रहेर प्रहरी परिचालन गरिएको हो । घटनाबारे छानबिन गरी दोषीलाई कारबाही दायरामा ल्याइने पनि उनले बताए ।

जिल्ला प्रशासनले बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरेको छ । कर्फ्यु कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रमा कायम गरिएको छ । कृष्णनगर क्षेत्रमा हिन्दू र मुस्लिम समुदायको बाक्लो बसोबास छ ।

जिल्लाको घटना र सुरक्षाको विषयलाई लिएर नेकपा केन्द्रीय सदस्य एवं अल नेपाल मुस्लिम संगठनका अध्यक्ष सिराज फारुकीले बिहीबार दिउँसो गृहमन्त्री रामबहादुर थापालाई सिंहदरबारमा भेट गरेका छन् । उनले जिल्लाको अवस्था जानकारी गराउँदै शान्तिसुरक्षाका लागि थप सुरक्षाबल परिचालन गर्न आग्रह गरे । ‘गृहमन्त्रीलाई भेटमा दोषीलाई कारबाही गर्न र शान्तिसुरक्षा बिथोल्ने समूहमाथि निगरानी राख्न आवश्यक रहेको सुझाव दिएको छु,’ फारुकीले भने ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung