७ कार्तिक २०८३, शुक्रबार

 

गौ महोत्सवलाई जलजला सहकारीको १० लाख

लोपोन्मुख स्थानीय जातका गाईको संरक्षणका लागि जलजला गाउँपालिका–७ मिलनचोकमा हुने गण्डकी गौरक्षा गौशाला धनधान्याचल विराट् ज्ञान महायज्ञ एवं गौ महोत्सवको मिति नजिकिँदै गर्दा सहयोगी दाताको ओइरो लागेको छ ।

जलजला गाउँपालिका ७ मिलनचोकमा रहेको लुङ्दी जलजला बहुउद्देश्यीय सहकारी संस्थाले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

सहकारीको ११औं वार्षिक साधारणसभाबाट मंसिर १९ देखि २६ सम्म हुने महोत्सवलाई उक्त रकम सहयोग गर्ने निर्णय भएको सहकारीका प्रबन्धक टेकनारायण आचार्यले जानकारी दिए ।
१० लाख सहयोग गरेबापत सहकारीलाई महायज्ञमा एक दिन सभानायक बनाइने महोत्सवका उपाध्यक्ष शिव जिसीले बताए । सहकारीले गौशालालाई यसअघि पनि आर्थिक सहयोग गर्दै आएको उनले जानकारी दिए ।

स्वामी कमलनयनाचार्यको पहल र स्थानीयको सक्रियतामा २०७२ मा धाइरिङमा स्थापित गौशालाको क्षमता विस्तार, व्यवस्थापन, आवश्यक संरचना निर्माण गराउने र अक्षयकोष स्थापना गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो ।

कालीगण्डकी र लुङदी नदीको दोभानमा हुने महायज्ञको प्रचारप्रसार र व्यवस्थापन तीव्र पारिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष राजु आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung