३ जेष्ठ २०८१, बिहीबार

 

कालिका कन्या माविकी संस्थापक ‘माइली मास्टर्नी’ सम्मानित

कालिका कन्या मान्दिर माध्यमिक विद्यालयकी संस्थापक प्रअ चन्द्रकुमारी श्रेष्ठ (माइली मास्टर्नी) सम्मानित भएकी छन् । बागलुङमै जन्मिएर त्यहाँका कन्यालाई जम्मा गरी पढाउँदै शिक्षाको माध्यमबाट नारी जागरण तथा महिला सशक्तिकरणमा योग्दान पुर्याएको भन्दै श्रेष्ठलाई सम्मान गरिएको हो ।

९७ वर्षीया चन्द्रकुमारीले २०१६ सालमा तत्कालीन राजा श्री ५ महेन्द्र तथा प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाबागलुङ जाँदा राजा सवार घोडाको लगाम समातेर कन्या मन्दिरका लागि जग्गा माग गरेकी थिइन् ।

पञ्चायतकालमा कन्या मन्दिरका लागि राजा र प्रधानमन्त्रीलाई जग्गा माग गरेकी उनले लामो समयको प्रयासपछि कन्या मन्दिरका लागि जग्गा व्यवस्थापन भएको थियो । सो समयमा पुरुषले पनि पठन- पाठन गर्न गाह्रो भएका बेला श्रेष्ठले स्थानीयकै भैंसी गोठमा कन्यालाई जम्मा गरी महिला उत्थान तथा नारी उत्थानका विषयमा शिक्षा दिन शुरू गरेकी हुन् ।

बेतलबी कन्यालाई अध्ययन गराएकी कुमारीले कन्या माविकाे गरिमालाई बढाउन बागलुङबासी लाग्नुपर्ने बताइन् । बागलुङ समाज कल्याण केन्द्र काठमाडौं र कालिका कन्या माध्यमिक विद्यालय बागलुङको आयोजनामा चन्द्रकुमारी श्रेष्ठलाई काठमाडौंमा सम्मान गरिएको हाे ।

सम्मान कार्यक्रममा बोल्दे चन्द्रकुमारीले भनिन् –‘मैले खुल्ला आकाश मुनि त्यहाँका कन्यालाई शिक्षा दिए, कन्या मन्दिरका बनाउन मेरो असाधारण योग्दान छ, त्यसलाई कन्या मन्दिरकै रुपमा संरक्षण गरी भोलि पिढीले पनि पढ्न पाउनुपर्छ ।’ तत्कालिन समयमा मसालन्द खर्च बापत् ४सय ६० रुपैयाँ राज्यबाट आएको पैसाले कन्या मावि चलाएको स्मरण गर्दै साेही समयमा सहयाेग गर्ने सबैलाई धन्यावाद ज्ञापन गरिन् ।

सम्मान कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले बागलुङबासीका लागि चन्द्रकुमारी श्रेष्ठ दिपशिखा भएर जन्मिएको बताएका छन् ।

दिपशिखाले आफू जलेर अरुलाई उज्यालो बनाउने काम गर्छ, उनले भने– ‘बागलुङका कन्यालाई जम्मा गरी नारी वर्गका लागि आफू अन्यायमा परेपनि ज्योतिको पुञ्ज छर्ने जुन काम भयो त्यो इतिहासले भोलिका दिनमा पनि सम्झिरहनेछ ।’ समाजमा काम गर्नेका लागि यसरी सम्मान गर्दा भोलिका पिढीलाई प्ररेणा हुने श्रेष्ठकाे  विश्वास छ ।

सोही कार्यक्रममा पूर्व राज्यमन्त्री ओमकार गौचनले समाजिक क्षेत्रमा काम गर्ने समाजमा ज्यादै कम हुने भन्दै त्यस्ता व्यक्तिलाई राज्यबाट पनि सम्मान हुनपर्ने धारणा राखे ।

सम्मान कार्यक्रममा सांसद राजेन्द्र केसी, पूर्व महान्यायाधीवक्ता  रमण श्रेष्ठ, सांसद अमृता थापा, विद्यालयका पूर्व अध्यक्ष कृष्णलाल शाक्य, पूर्व शिक्षक बालकृष्ण ‘नेवा’श्रेष्ठ , पूर्व विद्यार्थी चमेली शाक्य, पूर्व प्रअ एवम् उद्योगपति पुष्पमान श्रेष्ठ, रत्ना श्रेष्ठ र कृष्णलाल श्रेष्ठले  चन्द्रकुमारीले गरेको योग्दानको मुक्त कण्ठले प्रशंसा गरे ।

विद्याललाई विभिन्न हिसाबले योग्दान पु¥याउने संगम भारी, विश्वकुमारी श्रेष्ठ, चमेली शाक्य, निर्मला श्रेष्ठ, ज्ञानु श्रेष्ठ, निर्मला बजगाईं, शैव्या प्रधान, सुकुन्दा प्रधान र सरिता प्रधान सम्मानित भएका छन् ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमसेनकुमार श्रेष्ठको अध्यक्षता, बागलुङ समाज कल्याण केन्द्रका अध्यक्ष विराटकुमार श्रेष्ठको स्वागत र विद्यालयका प्रअ धनराज सापकोटाकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्