१६ बैशाख २०८१, आईतवार

 

काे बन्ला उपसभामुख ?

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा गरेसँगै अब उक्त पदमा काे आउला भन्ने चर्चा व्यापक छ । सभामुखमा नेकपाका अग्नि सापकाेटाकाे नाम घाेषणा हुन संसदीय औपचारिकता मात्र बाँकी छ । यस्ताेमा प्रतिनिधिसभाका दुई  सर्वाेच्च पद एउटै पार्टीले नपाउने संवैधानिक व्यवस्थाका कारण तुम्बाहाङ्फेलाई ‘आफ्ना’बाटै राजीनामाका लागि दबाब सिर्जना भयाे । सकेसम्म आफैं सभामुख हुन चाहेकी उनले अन्ततः पार्टीका दुई अध्यक्षकाे भागबन्डासामु नतमस्तक हुनुपर्‍याे ।

अब साँच्चै काे बन्ला त उपसभामुख ?  यसमा अहिले खास गरी दुई पार्टी चर्चामा छन्– जनमाेर्चा र राजपा । तर संसद्काे गणितमा कमजोर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससमेत संवैधानिक अधिकारको हवाला दिँदै उक्त पद आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । सभामुखकाे दाैडमा सापकाेटाविरुद्ध कुनै चुनाैती प्रस्तुत नगर्नुले पनि उसले उपसभामुखका लागि नेकपालाई रिझाउन खाेजेकाे बुझ्न सकिन्छ । यद्यपि कांग्रेस नेता शेखर कोइराला पार्टीले सभामुखमा प्रतिस्पर्धा नगरेर नराम्रो सन्देश प्रवाह गरेको बताउँछन् । ‘राजनीतिमा सबै लडाइँ वा पदमा जित्नै पर्छ भन्ने छैन । त्यसैले पनि रिक्त सभामुखमा उम्मेदवारी दिन सक्नुपर्थ्याे । त्यसले कार्यकर्ताको मनोबल उच्च राख्छ,’ उनले भने ।

संसद्मा दुई तिहाइ बहुमत रहेकाले उपसभामुख चयनमा पनि नेकपाकाे एकल निर्णय काफी छ । तर, संवैधानिक व्यवस्थाकै कारण उसले उक्त पद अर्काे दललाई दिनैपर्छ । अब उसँग प्रमुख प्रतिपक्षलाई स्थान दिने कि आफूलाई सघाउने दललाई रिझाएर सत्ता गठबन्धन बलियाे बनाउने भन्ने दुई बाटा छन् । तर, नेकपा कांग्रेसबाहेककै दलबाट उपसभामुख बनाउने तयारीमा रहेकाे बुझिन्छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संसद्मा एक सिट मात्र जितेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई उपसभामुख उम्मेदवार तयार पार्न आग्रह गरेका छन् ।  जनमोर्चाकी सांसद दुर्गा पौडेललाई बनाउँदा दुईमध्ये एक पद महिला हुनुपर्ने संवैधानिक प्रावधान पालना हुने भएकाले दाहालले उनैलाई उपयुक्त ठानेका हुन् । तर, उक्त पार्टीले संसद्मा एक जनाकाे मात्र प्रतिनिधित्व रहेको  र उपसभामुख भएपछि दलीय प्रतिनिधित्व समाप्त हुने ठहर गर्दै नजाने निर्णय गरेको बुझिएकाे छ ।

नेकपाकै एउटा खेमा भने प्रमुख प्रतिपक्ष कांग्रेसलाई सँगै लिएर हिँड्न उपसभामुख उसैलाई दिनुपर्ने पक्षमा छ । तर, अध्यक्षद्वय कांग्रेसलाई दिनै नहुने बरु राजपा नेपाललाई उपसभामुख दिएर सत्ता गठबन्धन बलियाे बनाउने पक्षमा देखिन्छन्। ‘जसरी हुन्छ, कांग्रेसइतरको पक्षमा दिने तयारी भइरहेको छ,’ एक नेताले भने । राजपालाई उपसभामुख पदसहित यसअघिकाे सत्तासाझेदार समाजवादी फोरमकै बराबर सम्मान दिएर राजनीतिकाे आगामी समीकरण सन्तुलित बनाउने नेकपा नेतृत्वकाे अभीष्ट देखिन्छ । राजपाले पनि सभामुखमा सापकाेटालाई समर्थन गरेर आफू उक्त समीकरणका लागि तयार  रहेकाे संकेत गरेकाे छ ।

oo सम्पादकीय oo

प्रतिक्रिया दिनुहोस्