१६ बैशाख २०८१, आईतवार

 

सभामुखलाई पाइलैपिच्छे परीक्षा

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रिय पोसाक दौरा–सुरुवालमा सजिएर पद तथा गोपनीयताको शपथ लिए । यो शपथसँगै उनको परीक्षा सुरु भएको छ, कार्यकाल सफल बनाउने ।

सभामुख निर्वाचित भएलगत्तै उनले भनेका थिए– ‘सकेसम्म तटस्थ, इमानदार र मर्यादित भएर जिम्मेवारीपूर्ण तरिकाले सदनको गरिमा कायम राख्नेछु ।’ तर, यो परीक्षामा खरो उत्रनु उनका लागि चुनौतीरहित पक्कै छैन । सुरुमा त सभामुखका लागि पार्टीभित्रैबाट छानिन उनलाई सकस प¥यो । नाम प्रस्तावित भइसकेपछि पनि पाइला–पाइलामा ठेस लागेको देखियो ।

पार्टीमा नाम प्रस्ताव गर्दा, पारित गर्दा, सभामुख निर्वाचनका लागि उम्मेदवार बन्दा, निर्वाचित भइरहँदा र शपथका लागि राष्ट्रपति कार्यालय शीतलनिवास पुग्दासमेत उत्साहपूर्ण रूपले पदीय जिम्मेवारीबोध गर्न उनी स्वतन्त्र रहेनन् । उनलाई आफ्नै विगतले अप्ठयारो तुल्यायो । अझै उनको परीक्षा सर्वाेच्चमा परेको रिटले गर्नेछ । आइतबार उनी निर्वाचित भइरहँदा रिटको सुनुवाइ के होला भन्ने त्रास र कौतूहल थियो । कारणवश, आइतबार रोकिएको सुनुवाइ सोमबारलाई सारिएको छ । त्यसैले उनको चयन यसअघिका उम्मेदवारजस्तो स्वतन्त्र र विवादरहित हुन सकेन ।

उनी आफैंले भनेजस्तो कति स्वतन्त्र भएर काम गर्ने वातावरण रहला ? प्रतीक्षाको विषय भएको छ । संसद्मा थाती रहेका केही विधेयक उनका लागि अपजसबाट मुक्त हुने किसिमका छैनन् । ती उनका लागि ‘नखाऊँ दिनभरिको सिकार, खाऊँ कान्छा बाउको अनुहार’ साबित हुन सक्छन् । एमसीसी सम्बन्धी विधेयकबाट उनको भूमिका कति निष्पक्ष भन्ने परीक्षा हुनेछ । एमसीसी आफैंले लिएको विगतको सिद्धान्तका विरुद्ध नै छ । तर यति बेलाको जिम्मेवारी र सरकारको उद्देश्यले त्यसलाई पन्छाउन सक्ने अवस्था छैन । त्यस्ता कैयौं विधेयक उनको कार्यकालका लागि परीक्षा हुनेछन् । विगतमा शिक्षक रहेर राजनीति गरेका सापकोटाका लागि शिक्षा, भूमिसुधार, मिडियालगायत कैयौं विधेयकमा परीक्षा हुँदै छ । गाँस–गाँसमा ढुंगा र पाइला–पाइलामा विरोधको सामना गरेका सापकोटालाई सबैभन्दा ठूलो चुनौती आफ्नो विगत भएको छ ।

सभामुखको जिम्मेवारी सम्हालिरहँदा रिटको फैसला उनको अनुकूल नभए उनको राजनीतिक जीवन मात्र नभएर व्यवस्थाप्रति नै दाग लाग्नेछ । किनकि एकै कार्यकालमा दुई–दुई सभामुख फेर्नुपर्ने अवस्था अाएमा व्यवस्थाको भविष्यमाथि औंला उठाउनेहरूका लागि साबिती बयान हुनेछ ।

आफ्नै पार्टीको बहुमतको सदन भए पनि सापकोटालाई अवस्था सहज नहुन सक्छ । कारण, पूर्वसभामुख महरालाई नै हेरे पुग्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय विधेयक पारित गर्न सहयोग नगरेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका थिए । सापकोटा पनि ओलीले सहर्ष स्वीकार गरेका सभामुख होइनन् । अर्कातिर उनलाई विपक्षी कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिएर लगाएको गुन पनि तिर्नुपर्ने अवस्था छ । सत्तामा बहुमतको दम्भ छ भने विपक्षीसँग विवेकको स्वतन्त्रता छ । विपक्षीको विवेकलाई सम्मान गरिरहँदा उनलाई सत्तापक्षको साथ नहुन सक्छ । त्यो अवस्थामा उनका लागि पनि बहिर्गमनको बाटो खुकुलो बनिदिन सक्छ । किनकि सापकोटाविरुद्धका अभियोग न्यायालयमा थाती छन् ।

महरा आफ्नो नैतिक कमजोरीले फसे । सापकोटा पनि थाती रहेका अभियोगबाट उम्कन सक्लान् भन्ने के ग्यारेन्टी ? उनले यति बेला चाहेर पनि आफ्नो विगतप्रति प्रायश्चित् गर्न सकिरहेका छैनन् । प्रायश्चित्ले मानिसलाई नैतिकवान् बनाउँछ । सानो वा तुच्छ बनाउँदैन । प्रायश्चित् गरेर विगतका दोषबाट उन्मुक्त हुन सक्ने मार्ग भने बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्