जापानमा नयाँ भिसा प्रणालीअन्तगत १ हजार ६ सय २१ जनाले कामदार भिसा प्राप्त गर्न सफल भएका छन् ।
गत वर्षबाट लागू भएको नयाँ रोजगार प्रणालीअन्तर्गत गत डिसेम्बर ३१ सम्ममा भिसा पाएकाको संख्या अनुमानितभन्दा ज्यादै न्यून भएको अध्यागमन कार्यालयले जनाएको छ ।
नयाँ भिसा प्रणालीअनुसार भिसा पाएकाहरू नेपालसहित ११ देशबाट ल्याइने दुई प्रकारको कामदार भिसा प्रणालीअन्तर्गतका हुन् । तर, भिसा प्राप्त गर्नेहरू जापानमै रहेर त्यो प्रक्रिया पूरा गर्न सफल व्यक्तिहरू मात्र रहेको कार्यालयले जनाएको छ ।
गत अप्रिलबाट लागू नयाँ अध्यागमन नीतिअनुसार जापानले आगामी ५ वर्षभित्रमा करिब साढे ४ लाख विदेशी कामदार ल्याउने लक्ष्य राखेको छ ।
भिसा पाएकाहरूमध्ये जापानमा विभिन्न प्रकारको प्रशिक्षार्थी कामदारमा आएकाहरू पनि छन् । तर, ती सबैले नयाँ नियमअनुसार भाषा, प्रयोगात्मकसहित सबै परीक्षा उत्तीर्ण गरेको जापानी अधिकारीहरूले बताएका छन् ।
जसमध्ये भियतनामी ९ सय १० जना, इन्डोनेसियाली १ सय ८९ जना र तेस्रो नम्बरमा फिलिपिनी १ सय ११ जना रहेका छन् । यसमा नेपालीको संख्याबारे केही उल्लेख गरिएको छैन । कारोबार दैनिकले खबर छापेको छ ।













































































































































































































