१६ बैशाख २०८१, आईतवार

 

स्थलमार्ग हुँदै नेपाली भारतबाट तेस्रो मुलुक जान नपाउने

नयाँ दिल्लीस्थित नेपाली दूतावासले स्थलमार्ग हुँदै भारतबाट तेस्रो मुलुक जान चाहने नेपाली नागरिकलाई रोक लगाएको छ । नेपाल र भारतको खुल्ला सीमानाका कारण भारतीय विमानस्थल प्रयोग गरी तेस्रो मुलुक जाने र विभिन्न समस्या देखिँदै आएको कारण रोक लगाएको दूतावासले जनाएको हाे ।

नेपाली दूतावासले सूचना जारी गर्दै भनेको छ, ‘तेस्रो मुलुक जान चाहानेले काठमाडौं दिल्लीसम्म हवाई यात्रा अनिवार्य र पासपोर्टमा अध्यागमन विभागको ‘डिपार्चर’ छाप लगाएको हुनुपर्ने छ, स्थलमार्गबाट आउनेलाई तेस्रो मुलुक जाने अनुमति दिइने छैन ।’

खुल्ला सिमाको दुरुपयोग गर्दै मानव तस्करी समेत हुने गरेको परिप्रेक्ष्यमा नेपाली नागरिकहरुको प्रस्थान अनुमति सम्बन्धमा नेपालको अध्यागमन विभागले स्थलमार्गबाट भारत जाने नेपाली नागरिकको राहदानीमा प्रस्थान छाप नदिने व्यवस्था कार्यान्वयन गर्न समेत निर्देशन दिएको छ ।

दूतावासले तेस्रो मुलुक जान आफ्नै विमानस्थल प्रयोग गर्न समेत आग्रह गरेको छ । भारतबाट नेपाल आउनेका लागि सरकारले त्यस किसिमको नियम लागू गरेको छैन । भारतीय नागरिक स्थलमार्गबाट नेपाल आई हवाईमार्ग भएर भारत र अन्य देश पुग्न सक्नेछन् । भारतवासीलाई नेपाल–भारत यात्रा गर्दा पासपोर्टसमेत आवश्यक पर्दैन । नागरिकताको प्रमाणपत्र भए पुग्छ । नेपालीका हकमा भने भारतका लागि हवाई यात्रा गर्दा पासपोर्ट अनिवार्य गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्