अध्यागमन विभागले कोरोनाभाइरसको सङ्क्रमणले प्रभावित विश्वका ८ वटा देशका नागरिकलाई मङ्गलवार देखि नेपाल प्रवेशमा राेक लगाएकाे छ । विभागले प्रभावित ८ देशका नागरिकलाइ ‘अन–अराइभल’ भिसा बन्द गरेकाे छ।
अघिल्लो साता सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान दक्षिण कोरिया, जापान र इटली रहेकोमा थप तीन देशहरूका नागरिकलाई ‘अन–अराइभल’ भिसा बन्द गर्न गरिएको छ ।
अध्यागमन विभागका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात प्रवेशाज्ञा नलिकन आउने स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि विमानस्थल वा अन्य सिमानाकाबाट अन–अराइभल भिसा मंगलबारबाट नदिइने भएको छ ।
अब यो निर्णय अनुसार यी ८ देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोनाभाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने जानकारी गराइएको छ । हाल विश्वका १३ वटा देशका नागरिकबाहेक सबैलाई नेपालले त्रिभुवन अनर्राष्ट्रिय विमानस्थल र अन्य सिमानाकामा नै ‘अन–अराइभल’ भिसा दिँदै आएको थियो।
पर्यटकका रुपमा नेपाल आउने विश्वका धेरै देशका नागरिकहरूले त्रिभुवन विमास्थलमा उत्रिएपछि र नेपालका विभिन्न नाकास्थित अध्यागमन कार्यालयबाट नेपाल प्रवेश गर्ने अनुमति लिन पाउने प्रावधान रहेको छ। उक्त सुविधाका कारण नेपाल आउने पर्यटकले सम्बन्धित देशमा नेपालको दूतावास खोज्नुपर्ने र आवेदन दिनुपर्ने झन्झट नहुँदा धेरै पर्यटक नेपालको भ्रमणकालागि आकर्षित हुने गरेका छन् ।
तर कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले त्यस्तो व्यवस्था तत्कालका लागि केही देशका नागरिकका निम्ति स्थगन गर्ने निर्णय गरेको विभागले जनाएको छ ।
















































































































































































