१७ बैशाख २०८१, सोमबार

 

कोरोनाले ब्युँतिएकाे सार्क

भारत र पाकिस्तानको बेमेलका कारण थला परेको दक्षिण एसियाली राष्ट्रहरूको साझा मञ्च एवं क्षेत्रीय संगठन सार्क यति बेला कोरोना भाइरसका कारण ब्युँतिएकाे छ । आइतबार मात्र सार्कका राष्ट्रप्रमुख, सरकारप्रमुख तथा प्रतिनिधिले भिडियाे कन्फरेन्समा जाेडिँदै कोरोना भाइरसको महामारीबाट बच्न साझा उपाय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

सार्क अध्यक्ष रहेको नेपालले उक्त भिडियाे कन्फरेन्सकाे प्रस्ताव तथा आयोजना गर्नुपर्ने भए पनि प्रधानमन्त्री केपी ओलीको अस्वस्थताका कारण सम्भव भएन । सार्कमा अहम् हैसियत राख्ने भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले त्यो अवसरको सदुपयोग गर्दै सार्क राष्ट्र तथा सरकारप्रमुखहरूका बीचमा साक्षात्कार गरे ।

भारत र पाकिस्तानको मनमुटावले १९ औं सार्क सम्मेलनसमेत हुन नसकेको अवस्थामा कोरोना महामारीको सामना गर्न यी दुई छिमेकी एउटै मञ्चमा देखिनुलाई सुखद मान्नुपर्छ । १८औं सम्मेलन सन् २०१४ मा नेपालले आयोजना गरेकाे थियाे ।  १९औं सम्मेलन पाकिस्तानको इस्लामाबादमा गर्ने घाेषणा थियाे ।

सन् १९८५ मा बंगलादेशको ढाकामा प्रथम सम्मेलन गरेर अस्तित्वमा आएको सार्कले यस अवधिमा के काम गर्‍यो भनेर समीक्षासमेत हुन नसकिरहेका बेला महामारीविरुद्ध जुध्न साझा सञ्जाल बनाउनेमा सहमति जुट्नु पनि आफैंमा उपलब्धि हाे । सार्क स्थापना हुँदा सात राष्ट्रको सहभागिता भए पनि पछि अफगानिस्तान थपिएर आठवटा पुगेका छन् ।

यस संगठनले अन्तर्राष्ट्रिय जगत्मा दक्षिण एसियाको प्रतिनिधित्व गर्छ । यस क्षेत्रमा विश्वका १५ प्रतिशतभन्दा बढी जनता छन् । सार्क राष्ट्रमध्ये भारतबाहेक अन्य देशमा तत्काल कोरोनाको कहर देखिएको छैन । तर उच्च सतर्कता अपनाउन जरुरी छ ।

कोराना संक्रमण सार्ककै छिमेकी राष्ट्र चीनबाट सुरु भएको हो । तीन महिनाकाे अवधिमा चीनमा मात्र ३ हजारभन्दा धेरैले ज्यान गुमाइसके । करिब १ लाख जना संक्रमित छन् । यद्यपि यति बेला उक्त रोगले युरोपमा पनि महामारीको रूप लिएको छ । यही अवस्थालाई ध्यानमा राखी चीनसँगको प्रत्यक्ष सम्बन्ध विच्छेदसमेत भएको छ । अमेरिकाले चीनका अतिरिक्त युरोपबाटसमेत हवाई सेवा बन्द गराएकाे छ । युरोपका देशहरूमा पनि आवागमन बन्द भएको छ । पछिल्लाे पटक यसको प्रभाव मध्यपूर्वी देशहरूमा पनि देखिएको छ । यस्ताे अवस्थामा सार्क राष्ट्र पनि उच्च जाेखिममा छन् । विश्व स्वास्थ्य संगठनले यही कुरा औंल्याउँदै सचेतना अपनाउन आग्रह गरेकाे छ । चीन र मध्यपूर्वकाे सीधा सम्बन्ध सार्क देशहरूसँग छ ।

ती देशमा नेपाल, भारत, बंगलादेश, पाकिस्तानबाट रोजगारीका लागि लाखौं युवा गएका छन् । त्यसै गरी मध्यपूर्वको इरानमा पनि कोरोनाको संक्रमण उच्च देखिएको छ । त्यसैले उच्च सतर्कता अपनाउँदै जोखिमविरुद्ध सामना गर्नुपर्ने अवस्था छ । महामारीविरुद्ध सार्ककाे याे ऐक्यबद्धता १९औं सम्मेलन गर्न खुलेकाे बाटाे पनि हाे ।

भारतले जसरी महामारीविरुद्ध सबैलाई एउटा फोरममा बस्ने वातावरण तय गर्‍यो त्यसै गरी हुन नसकेको सार्क सम्मेलन गराउन संयम अपनाउन आवश्यक छ । सार्कलाई गतिशील बनाउन सकिए आधुनिक विश्वमा आउन सक्ने यस्ता महामारी र विपत्तिबाट जुध्न अवश्य पनि सहज हुनेछ । त्यसैले थला परेको सार्क संगठनको औचित्य पुष्टि गर्न फेरि एकपटक नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बेला भएको छ । जसरी सन् २०१४ मा भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई  काठमाडाैंमा आमने–सामने गराएर पूर्वप्रधानमन्त्री सुशील कोइरालाले वाहवाही बटुल्न सफल भएका थिए, ठीक त्यसै गरी रोकिएको सम्मेलन गराउने वातावरण बनाएर वाहवाही बटुल्न प्रधानमन्त्री केपी ओलीलाई अवसर आएकाे छ ।

प्रतिक्रिया दिनुहोस्