
कोरोना भाइरसका कारण अर्थ बजार ठप्प भएपछि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। बैंकर्स संघले गरेको सहमतिअनुसार बुधबारबाट सबै वाणिज्य बैंकले ब्याजदर घटाएका हुन्।
बैंकहरूले मुद्दती, बचत र कल डिपोजिटको ब्याजदर एकदेखि डेढ प्रतिशत विन्दुसम्मले घटाएका छन्। बैंकहरूले पुनरावलोकन गरी ब्याजदर घटेपछि ऋणको ब्याजदर पनि घट्नेछ।
यसको कार्यान्वयन भने जेठ १ गतेबाट हुनेछ। ऋणको ब्याज घटाउनुपरेपछि निक्षेपको ब्याज तल झारिएको हो । बैंकहरूले आधार दरमा लिने अधिकतम प्रिमियम दर पनि एक प्रतिशत विन्दुले घटाएका छन्।
बैंकहरूले ९.५ प्रतिशतसम्म ब्याज दिएकोमा संस्थागतलाई ८ प्रतिशत र नवीकरण गर्ने निक्षेपको ब्याजदर ८.१ प्रतिशत कायम गरिएको छ । बुधबारदेखि बचत खातामा दिँदै आएको ब्याज ६ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको छ ।