
सांसद अपहरणसम्बन्धी जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले आनाकानी गरेको छ । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध आएको अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी प्रहरीले लिन नमानेको हो ।
मुद्दा दर्ताका लागि समाजवादी जनता पार्टीका नेताहरू डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो प्रहरी कार्यालय पुगेका छन् । आफ्नो पार्टीका सांसद सुरेन्द्र यादवको अपहरण गरिएको भन्दै नेताहरु प्रहरीकहाँ पुगेका हुन् ।
सांसद यादव पनि प्रहरी कार्यालयमा छन् ।परिसरको मुद्दा शाखाका प्रमुख डीएसपी कृष्ण चन्दले सांसद यादवको घटना महोत्तरीमा भएको भन्दै उतै जाहेरी दिन भनिरहेका छन् ।
उनले कार्यालयप्रमुख पनि नभएको बताएका छन् । काठमाडौं प्रहरीमा एसएसपी श्याम ज्ञवालीको सरुवा भएको छ । उनले पदभार सम्हालिसकेका छैनन् ।
लकडाउनका बेलामा महोत्तरी जान असम्भव भएकाले यहीँ जाहेरी लिनुपर्ने नेताहरूको माग छ । खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याइपुर्याएका थिए ।
समाजवादी फुटाउने योजनासहित जनकपुरबाट काठमाडौं ल्याइएका सांसद यादवलाई बुधबार राति मेरियट होटलमा राखिएको थियो । तर बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए।
तस्बिर : सुजन श्रेष्ठ,नेपाल न्युजबाट