
बागलुङ नगरपालिकाभित्रका उपभोक्तालाई सफा र स्वच्छ खानेपानी खुवाउने उद्देश्यले सुरु गरिएको लिफ्टिङ खानेपानी आयोजना गलत इस्टिमेटका कारण जोखिममा परेको छ ।
आयोजनाको डीपीआरमै कमजोर भूभाग छनोट गरिएका कारण ४५ करोड लागतको योजना वर्षातको पानीले पटकपटकको भत्किन थालेको छ । खानेपानीको रिजर्भ ट्याङ्की निर्माण हुने बागलुङ नगरपालिका–३ कैलामपोखरीमा लगाइएको मेसिनरी वाल केही दिनअघिको वर्षाका कारण भत्किएको छ ।
यसले सरकार तथा उपभोक्ताको करोडौं रकम खेर गएको छ । कमजोर भूभाग भएको ठाउँमा योजना छनोट भएकाले यस्तो अवस्था आएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए । योजना सुरु भएदेखि नै समस्या भइरहेकाले अब इस्टिमेट परिवर्तन गरेर अगाडि बढ्ने श्रेष्ठले बताए ।
यसभन्दा अघिको डिजाइनमा आरसीसीवाल लगाइने तय गरिए पनि डिजाइन परिवर्तन गरेर मेसिनरी वाल बनाइएको हो । खानेपानी आयोजनाको वाल भत्किँदा बागलुङ नगरपालिका–३ को देउरालीचोकका केही घरसमेत जोखिममा परेको नगर खानेपानीका उपाध्यक्ष नीरज शाक्यले बताए ।
बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको लगानीमा काठेखोलाको पानी लिफ्ट प्रणालीबाट तानेर बागलुङ बजारमा ल्याउने तयारी गरिएको छ । नगरको ठूलो योजनाको डीपीआर तयार गर्दा उचित ठाउँ छनोट हुन नसक्दा यो स्थिति सिर्जना भएको बागलुङ नगरप्रमुख जनकराज पौडेलले बताए ।
सन् २०१८ जुलाई १५ मा सम्झौता भई सन् २०२० जुलाई १४ मा सम्पन्न गर्ने गरी जय मता कन्काई जेभीले निर्माणको जिम्मा लिएको थियो । निर्माण सम्पन्न हुने मिति करिब ३ महिना बाँकी रहँदा योजनाको करिब ४० प्रतिशत मात्रै काम सकिएको छ ।