
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको हो ।
आजको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरूलाई बोलाइएको छ । बैठकमा संविधान संशोधन तथा कोरोना महामारी नियन्त्रणबारे छलफल हुनेछ ।
हालै सरकारले जारी गरेको लिम्पियाधुरासहितको नक्सालाई आधिकारिकता दिन संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । कोरोना नियन्त्रणका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्नुपर्ने आवाजहरू पनि उठिरहेका छन् । बैठक यिनै विषयमा केन्द्रित हुने बताइएको छ । यसअघि वैशाख ३१ गते सर्वदलीय बैठक बसेको थियो ।